
करेण्ट चाउचाउले लागेन त झड्का ?
जंक फुडको नेपाली समानार्थी शव्द पत्रुखाना हो कि होइन, त्यो अर्कै कुरा हो, जे होस्, चाउचाउ पत्रु खाना चाहिँ हो । पत्रु अर्थात, रद्दी, बेकम्मा । चाउचाउ, बिस्कुटलाई पत्रु खाना हो भन्दा उसकै उत्पादकले अस्वीकार गरेको देखे, सुनेको छैन ।
चाउचाउमा मिसाइएका जैविकसंगैको रासयनिक पदार्थले शरीरमा पार्ने पाश्र्वप्रभावका बारेमा पनि अब अनभित्र भइराख्नु पर्दैन । यत्ति हो कि, थाहा पाएर पनि नपाए झैँ गर्ने कि नगर्ने । अथवा चाउचाउ भनेको पत्रु खाना हो, चाउचाउ स्वास्थ्यका लागि लाभदायक छैन भनेर धेरैले धेरैलाई सिकाउन सक्छन्, तर कार्यान्वयन तहमा छ कमजोरी छ । यो त सिकाउने कुरा मात्र पो, कार्यान्वयन गर्ने त कहाँ हो र ? अथवा कार्यान्वयनको चरण पनि अरुले पो गर्ने त, मैले त कहाँ हो र ? जस्ता मनोविज्ञानले काम गरिरहेको छ ।
चाउचाउका पारखीहरु दिनहूँ साँधेर, उमालेर, फुक्कै, चिउरामा मिसाएर पनि खाने चलन छ ।
यसै क्रममा गोरखा नगरपालिकाको वडा नं. ७ डण्डीडाँडामा तीन जना मिलेर दुईवटा करेण्ट चाउचाउ पकाएर खान लाग्दा किरा फेला पारे । उम्लिरहेको पानीमा पाकेट फुटाएर चाउचाउ खन्याउँदा किराहरु पानीमाथि तैरिए । त्यसपछि उनीहरुले फोटो, भिडियो खिचे, वरिपरिका मान्छेहरुलाई देखाए अनि फ्याँके ।
चाउचाउको खोलमा उत्पादन मिति २०२१ मे लेखिएको थियो । सो चाउचाउ उत्पादक कम्पनीका बिक्रेताका अनुसार डेट एक्स्पायर हुँदैमा चाउचाउमा किरा परिहाल्दैन । किरा पर्नका लागि पाकेट च्यातिएको, ओस्सिएको हुनुपर्छ । उपभोक्ताहरुका अनुसार पाकेट पनि फुटेको थिएन, चाउचाउ ओस्सिएको पनि थिएन । दाबी दुवै पक्षको उत्तिकै बलियो थियो, उसो भए के भएर चाउचाउमा किरा भेटियो ?
जिल्लामा अनुगमन समिति छ, तर दशैँ, तिहार नआइसकेकाले बजार अनुगमन गर्ने बेला पनि भइसकेको छैन, त्यसैले यस्तो समस्याबाट बच्न उपभोक्ता आफै सचेत हुनु जत्तिको उपयुक्त अर्को बिकल्प छैन ।




