
सिसिटिभी क्यामेरा सँधै तन्दुरुस्त अबस्थामा राख
गोरखा बजारमा घट्ने हत्या, कुटपिट, चोरीलगायतका आपराधिक घटनाको अनुसन्धान गर्न सिसिटिभी क्यामेराले धेरै नै मद्दत गर्ने गरेको छ । धेरै त्यस्ता घटनाको अनुसन्धान सिसिटिभी क्यामेराको मनिटरिङबाट सफल भएका उदाहरण पनि छन् ।
म सिसिटिभी क्यामेराको निगरानीमा छु भनेर सज्जनहरु ढुक्क हुन्छन् , उनीहरुमा सुरक्षित रहेको अनुभूति भइरहेको हुन्छ भने आपराधिक मनस्थिति भएकाहरुमा सिसिटिभी क्यामेराको निगरानीमा छु भन्ने अनुभूतिले त्रासमा छु भन्ने लागिरहेको हुन्छ ।
त्यसैले गोरखा बजारजस्ता सहरहरुमा सिसिटिभी क्यामेराको अपरिहार्यता जगजाहेर छ । सिसिटिभी क्यामेराको महत्व बुझेर कैयौँ व्यक्ति तथा कम्पनी स्वयंले पनि आवश्यक स्थलमा जडान गरिरहेका हुन्छन् । निजी घर, पसल, उद्योग, व्यापारिक फर्महरुमा पनि सिसिटिभी क्यामेरा जडान गरेका हुन्छन् ।
तर दुखका साथ भन्नुपर्छ, गोरखा बजारमा जडित सिसिटिभी क्यामेरा बेलाबेला बिग्रिने गर्छ । मानव निर्मित उपकरण बिग्रनु अनौठो होइन, तर लामो समयसम्म मर्मत सम्भार नहुँदा यसले व्यक्ति, समुदाय, समाज, सहर, सुरक्षा निकाय सबैमा असर पार्छ ।
गोरखा बजारमा जडान गरिएको ७० वटा सिसिटिभी क्यामेरा बिग्रिएर काम नलाग्ने अबस्थामा थिए । करिब दुई महिनासम्म काम नलाग्ने अबस्थामा बसेका ती क्यामेराका बिषयले जब समाचारको स्थान लियो, तब नगरपालिका, सामुदायिक सेवा केन्द्र, प्रहरी कार्यालयले मर्मत सम्भारमा तदारुकता देखाए । अहिले बजार सिसिटिभी क्यामेराको निगरानीमा छ ।
फेरि पनि सिसिटिभी क्यामेरा नबिग्रेला भन्न सकिँदैन ।
अवश्य पनि बिग्रिन्छ, स्वाभाविक हो, तर अब भने बिग्रिएको बारे त्यसको सञ्चालन गर्ने निकायले तत्काल मर्मत गर्ने निकायमा जानकारी गराउनु पर्छ र मर्मत गर्ने निकायले पनि ढिला नगरी मर्मत सम्भार गर्नु वुद्धिमानी हुन्छ । बजार क्षेत्रका सबै सिसिटिभी क्यामेरा तन्दुरुस्त अबस्थामा रहोस् ।




