
चन्दा अभियान, पैसा बटुल्ने मेसो
नौलो जनवादी क्रान्तिको गन्तव्य नपुग्दै जनयुद्ध समाप्त भएको र अहिलेको उपलब्धीले जनयुद्धताका देखेको सपना पूरा नभएको निश्कर्ष एकजना माओवादीका पूर्वमन्त्रीले चर्चा गरेका थिए । साथै अहिलेको आफ्नै पार्टीभित्रको र बाहिरको चरम राजनीतिक बेथितिप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
उनको एउटा सन्दर्भ निकै मार्मिक थियो, ‘जायजेथा सबै पार्टीलाई सुम्पिने निर्णय भयो । मैले पनि सबै सुम्पिएँ । अंशमा पाएको, आफूले कमाएर किनेको जग्गा, जमिन, घर, घडेरी, घरमा भएका भाँडाकुँडा, फर्निचरसमेत पार्टीलाई बुझाएँ । तर अहिले ती भाँडाकुँडा, फर्निचर साथीहरुको घर, कोठामा देखिन्छ, आफ्ना सरसामान म चिन्दछु …।’
कोही भएभरको सबै बुझाउने, कोही बुझाउनु त परको कुरा, सहयोद्धाकै सरसामान भित्र्याउने र मनमौजी उपभोग गर्ने बेथितिप्रति उनको चरम असन्तुष्टि थियो ।
‘के सोचेँ मैले, के भयो अहिले…’ भन्ने गीतको शव्दसंग एकाकार हुने मात्र हो, त्यो अध्याय समाप्त भएको छ । अब शान्तिपूर्ण राजनीतिक यात्रा सुरु भएको छ । कतिपय कटु अनुभवले मनमथिंगल गिजोल्ने मात्र हुन् ।
अहिले बजारमा नेकपा (माओवादी)को नाममा फेरि एउटा नयाँ पार्टी देखा पर्दैछ । सो पार्टीको पहिलो प्रस्तुतिमै चन्दा माग गरेको छ । सशस्त्र युद्ध लड्ने तयारी गरेको, जनसेना निर्माण गर्न लागेको जस्ता कारण देखाउँदै सो पार्टीले सो अभियानका लागि चन्दा माग गरेको छ ।
देशमा आर्थिक मन्दी छ भन्ने कुरा जगजाहेर छ । कोभिड महामारीले थिलथिलिएको, लगत्तै रुस युक्रेन युद्धको चपेटामा परेको र भ्रष्टाचारले चुसेको नेपाली अर्थतन्त्र यतिबेला धन्नै शैयामा पुगेको अबस्था छ । बजारका उद्योगी, व्यापारी व्यापार नभएर चौपट भएको सुनाउँछन् । घरभाडा तिर्न नसकेको, वैँकको ऋणको किस्ता तिर्न नसकेको उनीहरुको पीडा एकातिर छ, अर्कातिर जनयुद्ध लड्नका लागि भन्दै चन्दा माग गरिएको छ । नयाँ बहानाबाजी गरेर पैसा असुल्ने बाटो गरिएको छ । यो देश, काल र परिवेशनसंग सुहाउँदो छैन ।




