
बजेटले निराश गोरखाली
कर्म गर्नु, फलको आशा नगर्नु भन्ने गीताको मूल सन्देश हो । फलको आशा नगरी गरिने कामलाई गीतामा निश्काम कर्म भनिएको छ । जसले फलको आशा नगरी काम मात्र गर्छ, उसलाई निस्काम कर्मयोगी पनि गीतामा भनिएको छ ।
आदर्शवाणीहरु कमैले मात्र पालना गर्छन् । अधिकले त हर कामलाई नतिजा, परिणामसंग सौदाबाजी गर्छन् । क्षणिकका लागि नै सही, त्यस्तैको तडकभडक धेरै छ । त्यस्तै प्रवृत्ति भएकाहरुको समाजमा डाँको चर्को छ । सत्यवान, नैतिकवानहरु मौन–मौन सहेर बस्न बाध्य छन् ।
जब गोरखाबाट प्रचण्डले चुनाव लड्ने भन्ने खबर आयो, त्यतिबेलैदेखि गोरखामा विकासको पुञ्ज आउँछ भन्ने चर्चा चल्यो । उनले चुनाव जिते, मुलुक संचालनको वाग्डोर सम्हाल्ने ठाउँमा पुगे, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गोरखाकै भए ।
प्रदेश सरकार बन्यो, मुख्यमन्त्री गोरखाकै भए । सभामुख गोरखाकै भए ।
संघमा पनि प्रदेशमा पनि ठूलो, महत्वपूर्ण पदमा गोरखाबाट गएकाहरु आसिन छन् । त्यसैले यतिबेला गोरखामा विकासको लहर आउँछ भन्ने सबैमा आशा जाग्नु स्वभाविकै छ । छिमेकी जिल्लाबासीहरुले पनि अब गोरखामा बजेट तथा कार्यक्रम अबश्यै पनि धेरै आउँछ भन्ने गर्थे ।
गत सोमबार बजेट तथा कार्यक्रम सार्वजनिक भयो । तर गोरखाले उल्लेख्य योजनाहरु पाएन ।
प्रधानमन्त्री प्रचण्ड जहाँतर्ही भाषणका क्रममा गोरखकाली रबर उद्योग पुनसञ्चालन गर्ने, बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य यथासीघ्र सञ्चालन गर्ने, पालुङ्टार एयरपोर्टमा पाइलट ट्रेनिङ सेण्टर सञ्चालन गर्ने, उत्तरी क्षेत्रमा उत्पादित जडिबुटीहरुलाई प्रशोधन गर्न प्रशोधनशाला स्थापना गर्ने बताउँथे । तर अहिले बजेट तथा कार्यक्रम बाचन कार्यक्रममा गोरखा शव्द मुस्किलले सुन्न पाइयो । बूढीगण्डकीको निर्माण मोडालिटी बनाउने, एघारकिलो बारपाक सडक आयोजनाका लागि लागि ८० करोड घोषणा भयो ।
जे घोषणा भयो, त्यसले गोरखालीको तृष्णा मेटिएन । त्यसैले उनीहरु निराश छन् ।




