
प्रदेश स्तरीय कराँते प्रतियोगीतामा जिल्लाका १३ जना खेलाडी प्रतिस्पर्धा गर्दै
शनिवारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा जिल्लाका १३ जना खेलाडीले सहभागिता जनाएका छन् । पुरुषतर्फ २५ केजी तौलमा युनिक पनेरु, ३० केजी तौलमा हरि बोहरा, ३५ केजी तौलमा अमृत राना मगर, ४० केजी तौलमा रुपेश गुवाजु, ४५ केजी तौलमा बसन्त परियार र ५० केजी तौलमा फिलेमन गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ २५ केजी तौलमा सरु थापा, ३० केजी तौलमा लक्ष्मी मानवसेवा, ३५ केजी तौलमा प्रेरणा मानवसेवा, ४० केजी तौलमा सृष्टि थापा मगर र ४५ केजी तौलमा सृष्टि श्रेष्ठले प्रतिस्पर्धा गर्ने नेपाल कराँते महासंघ जिल्ला कार्यसमिति गोरखाले जनाएको छ ।
त्यस्तै एकल काता अन्तरगत पुरुषतर्फ वसन्त परियार र महिलातर्फ सृष्टि श्रेष्ठले प्रतिस्पर्धा गर्ने बताइएको छ । जिल्ला स्तरबाट छनोट भएर उनीहरु प्रदेश स्तरीय प्रतियोगीतामा सहभागी भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ९ जिल्लाका खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीलाई शुक्रवार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । मुख्य प्रशिक्षक घ्याम्जो लामाको समन्वयमा कराँते महासंघ गोरखा र जिल्ला खेलकुद बिकास समितिले उनीहरुलाई बिदाइ गरेको हो । खेलाडीहरुलाई पोखरासम्म जान र बस्नका लागि कराँते महासंघ गोरखाका अध्यक्ष रामबहादुर थापा मगर लगायतका अन्य पदाधिकारी, मुख्य प्रशिक्षक घ्याम्जो लामा, खेलकुद बिकास समिति अध्यक्ष शान्तसिं बस्न्यात लगायतले रकम सहयोग गरेका थिए ।




