
मध्यपहाडीको काम कछुवा गतिमा
पूर्व काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरसम्म जोड्ने महेन्द्र राजमार्ग तत्कालीन राजा महेन्द्रले वि.सं. २०१९ बैशाख १ गते गैँडाकोटमा शिलान्यास गरेका थिए । शिलान्यासपछि कत्तिपनि नरोकिई १०२७.६७ किलोमिटर लामो सडक धमाधम निर्माण भएको थियो । अहिले पूर्वपश्चिम जोड्ने निर्बिकल्प राजमार्ग त्यही बनेको छ ।
त्यसको बिकल्पका लागि पूर्व पाँचथरको चुयाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म पहाडी जिल्लाहरु जोडेर मध्यपहाडी लोकमार्ग निर्माणको काम धमाधम भइरहेको छ । यो योजना गौरवको योजनाअन्तर्गत पर्दछ ।
पहाडी जिल्लाहरुमा आवागमन सहज गरी त्यहाँको विकासमा तिब्रता ल्याउने उद्देश्यले मध्यपहाडी लोकमार्गको अबधारणा ल्याइएको हो । मध्यपहाडी लोकमार्ग अधिकांश पहाडी जिल्ला, तिनका सदरमुकाम र प्रमुख सहरहरु छोएर जाने भएका कारण त्यहाँको आवतजावत र मालसामान ढुवानीमा सहजता आउने छ । यो सडकको केही भाग निर्माण कार्य जारी छ । यो राजमार्ग निर्माण सम्पन्न भएपछि त्यहाँको व्यापार व्यावसाय समुन्नतको अवसर मिल्नेछ ।
आजभन्दा ६० बर्षअघि राजमार्ग निर्माण गर्न धेरै बाधा व्यवधानहरु थिए, तथापि राजाको हुकुम चल्थ्यो । काम फटाफट भएको थियो । तर अहिले मध्यपहाडी लोकमार्गको काम दशकौंदेखि अलपत्र छ । अहिले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा स्वच्छन्दतावाद छ । कसैले कसैलाई नटेर्ने, कर्तव्य नगर्ने अधिकार मात्र खोज्ने शासन व्यवस्था छ । त्यसैले ठेक्का लिएको काम नगर्ने ठेकेदारलाई कुनै कारबाही हुदैन ।
मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा भयो भनेर जहाँतहीँ गुनासो छ, तर यसलाई तिब्रता दिने निकाय छैन । गत मंगलबार पनि गोरखा पालुङटारका बासिन्दा लामो समयदेखि मध्यपहाडीको काम ज्यादै धिमा भयो, ठेकेदार गायब भयो भनेर जिल्ला प्रशासन कार्यालयमा आए । काममा तिब्रता दिन ताकेता गरिदिन अनुरोध गरे । प्रजिअबाट ताकेता हुने आश्वासन लिएर फर्किए तर ताकेता होला नहोला, ताकेता टेर्लान्, अटेरी गर्लान् अनिश्चित छ ।
यो कुनै एक जिल्लाभित्रको मात्र समस्या होइन, मध्यपहाडीको काम प्राय सबै जिल्लामा समस्या छ । त्यसतर्फ सडक बिभागको ध्यान जानु अनिबार्य छ ।




