
द ओल्ड क्यापिटल स्कूलमा पढ्ने सेनाका छोराछोरीलाई पढाइ शुल्कमा छुट
गोरखा जिल्लामा बसोवास गर्ने नेपाली सेनाका छोराछोरीलाई द वल्ड क्यापिटल सेकेण्डरी स्कूलमा विशेष छुटमा पढाउन नेपाली सेना र विद्यालयको तर्फबाट सम्झौता भएको छ । बहालवाला तथा अवकास प्राप्त नेपाली सेनाका कक्षा ४ देखि १२ कक्षासम्म पढ्ने छोराछोरीलाई सैनिक कल्याणकारी कोष र विद्यालयको तर्फबाट विशेष छुटको व्यवस्था गर्ने बारे सम्झौता भएको छ ।
कक्षा ४ देखि १२ कक्षासम्म प्रत्येक कक्षामा तीन–तीन जना विद्यार्थीलाई सैनिक कल्याणकारी कोषबाट बार्षिक शुल्कमा २० हजार रुपैयाँ उपलब्ध गराउने र विद्यालयले पनि मासिक शुल्कमा ५० प्रतिशत छुट दिने बारे विद्यालय र रिपुमर्दन गण बीच सम्झौता भएको हो ।
सैनिक महाविद्यालयमा राखेर छोराछोरी पढाउन अनुकूल नमिलेका नेपाली सेनाका छोराछोरीले गोरखामै रहेर पनि विशेष छुटको सुविधामा पढ्न पाउन् भन्ने उद्देश्यले सो सम्झौता गरेको सम्झौतापत्रमा उल्लेख छ ।
यससम्बन्धी सम्झौता बिगत तीनबर्ष अघि नै भएको थियो । तीन शैक्षिक सत्र समाप्त भएकाले त्यसलाई पुन थप तीनबर्षका लागि नवीकरण गरिएको विद्यालयका प्रिन्सिपल जनक केसीले बताए । यो सुविधा ३० जना बालबालिकाले मात्र पाउने व्यवस्था छ । ‘एउटा कक्षामा तीन जनाका दरले यो सुविधा पाउछन्, थप तीन वटा कोटा छुट्टै हुन्छ,’ केसीले भने, ‘मासिक शुल्क बाहेक परीक्षा शुल्क, शैक्षिक भ्रमण शुल्कलगायतका अन्य शुल्क भने तिर्नुपर्नेछ ।’
नेपाली सेनाको सिफारिसको आधारमा बिद्यार्थी छनोट गरी शुल्क छुट दिइने विद्यालयले जनाएको छ । कोटाभन्दा बढी सिफारिस आएमा बिद्यालयको छात्रवृत्ति छनोट समिति मार्फत छनोट गरिने बताइएको छ ।
त्यस्तै नेपाली सेनाले सो विद्यालयमा पढ्ने बालबालिकालाई समय(समयमा मार्सल आर्ट, तेक्वान्दो, पिटी, फुटबल र अन्य खेलकुद तथा प्राथमिक उपचार सम्बन्धी कक्षा पनि सञ्चालन गर्नेछ । अनुशासन, उत्प्रेरणात्मक कक्षाका साथै समय समयमा विद्यालयमा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । सो विद्यालयमा हप्तामा तीनपटक नेपाली सेनाले पिटी खेलाउने र विद्यार्थीको अनुशासन कायम गराउन विशेष कक्षा सञ्चालन गर्ने पनि सम्झौतामा उल्लेख छ ।
छनौट भएका विद्यार्थीलाई विद्यालयले तीनबर्षसम्म शिक्षण शुल्क वृद्धि गर्न नपाउने पनि सम्झौतापत्रमा उल्लेख छ ।




