
सिलाइ कटाइसम्बन्धी तीन महिने एड्भान्स तालिम सुरु
सिक्दै, सिकाउँदै, कमाउँदै भन्ने मुल लक्ष्यका साथ गोरखा नगरपालिका ७ का महिलाहरुलाई सिलाइ कटाइसम्बन्धी तीन महिने एड्भान्स तालिम सुरु भएको छ । गोरखा नगरपालिका, वडा नं. ७ को सहयोगमा चिनारी बहुउद्देश्यीय व्यवसायिक सिकाइ केन्द्रले सिलाइ कटाइसम्बन्धी आधारभूत सीप सिकिसकेका १५ जना महिलाहरुलाई एड्भान्स तालिम दिन सुरु गरेको हो ।
डण्डीडाँडास्थित पुरानो स्वास्थ्यचौकी भवनमा सञ्चालन गरिएको सो तालिमको वडा नं. ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले सोमबार उद्घाटन गरेका छन् ।
चिनारी बहुउद्देश्यीय व्यवसायिक सिकाइ केन्द्रकी अध्यक्ष राममाया श्रेष्ठको अध्यक्षतामा आयोजित तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, सहभागी गीता भट्ट, संस्थाकी सल्लाहकार तुलसा मरहट्टा, वडासदस्य विभा अछामी रोकाले शुभकामना मन्तव्य व्यक्त गरेका संस्थाकी सचिव सुमित्रा श्रेष्ठले जानकारी दिइन् ।
सो उद्घाटन समारोहमा वडासदस्यहरु खड्कप्रसाद श्रेष्ठ, विभा अछामी रोका र केदारबहादुर थापा पनि सहभागी थिए । साथै संस्थाका सल्लाहकार सहदेवप्रसाद श्रेष्ठ, हरिश्चन्द्र श्रेष्ठ पनि सहभागी थिए ।
प्रशिक्षार्थीहरुलाई प्रशिक्षक अस्मिता मग्रातीले तीन महिनासम्म तालिम दिनेछिन् ।




