| सोमवार, कार्तिक २३, २०८३

आधारभूत स्वास्थ्यसेवा सञ्चालन गर्नु नमूनायोग्य काम

गोरखा नगरपालिकाले आउँदो जेठको १० गतेदेखि आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता कार्यक्रम सञ्चालन गर्दैछ । त्यसका लागि नगरपालिकाले गोरखा अस्पतालसित सम्झौता गरिसकेको छ ।

गोरखा नगरपालिका कार्यालयले उपलब्ध गराएको कार्ड साथमा लिएर गएपछि गोरखा अस्पतालले खोपबाहेक ९८ प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउनेछ । त्यस्तै १८ प्रकारका प्रयोगशाला सेवा पनि निशुल्क उपलब्ध गराउनेछ । त्यस्तै १० प्रकारका अन्य स्वास्थ्य सेवा पनि निशुल्क रुपमा उपलब्ध गराउनेछ ।

गोरखा नगरपालिकाको यो कार्यक्रम गोरखामा त पहिलो पटक हुँदै हो, नेपालमै पनि अग्रस्थानमा पर्नसक्छ ।
सुन्दा आधारभूत स्वास्थ्य सेवा भनिन्छ, तर नेपालका ७५३ पालिकाहरु यो कार्यक्रम लागु गर्न सकिरहेको अबस्था थिएन । गोरखा नगरपालिकाले अहिले लागु गरेपछि अब अरु पालिकाका लागि पनि उदाहरणीय छ । अनुसरणीय कार्यक्रम हो यो ।
सरकारले शिक्षा र स्वास्थ्य सेवामा सुनिश्चितता गर्ने भनेर भाषणबाजी गरेको धेरै भयो, तर अहिलेसम्म जटिल खालका रोगको त कुरै नगरौँ, आधारभूत सेवा पनि दिन सकिरहेको थिएन । जुन गोरखा नगरपालिकाले अब सुरु गरेको छ । यो काम धेरै स्वागतयोग्य काम हो ।

कतिपय पालिकाहरुले कतिपय काम उदाहरणीय, प्रसंसायोग्य काम गरिरहेका हुन्छन् । कतिपय काम भने ढुकुटी रित्याउने खालका मात्र गरेको पनि पाइन्छ । आफ्नो हातमा डाडुपन्यू भएका बेला डाडुपन्यूको दुरुपयोग गरी आफू, आफ्नाहरु पोस्ने काम पनि गरेको पाइन्छ ।

तर सबै पालिकाले सँधै यस्ता काम गरेका हुदैनन् । पालिकाका नेतृत्व रचनात्मक, सिर्जनात्मक र केही नयाँ गरौँ भन्ने स्वभाव भएका छन् भने नयाँ नयाँ काम पनि गरिरहेको पाइन्छ । यो त्यसैको उदाहरण हो ।
अन्य पालिकाले पनि निर्धारित मापदण्ड पूरा गरी न्यूनत्तम स्वास्थ्य सेवा सरकारले दिने ब्यबस्था गरोस
।

प्रतिक्रिया दिनुहोस्