
लाप्राकमा पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न
धार्चे गाउँपालिका–४ लाप्राकका पशु स्वास्थ्य तथा बाँझोपन निवारण घुम्ती शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा धार्चे गाउँपालिका पशु सेवा शाखा र वडा नं ४ को समन्वयमा शिविर भएको हो ।
शिविरमा नाम्ले जुगा विरुद्धको औषधी उपचार, कुकुरको रेविज रोग विरुद्धको खोप, गाइभैँसी, भेडाबाख्रामा देखिने सिजनल रोगको औषधी प्रयोग लगायतको बारेमा परामर्श दिइएको कार्यालयका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए । शिविरमा कृषकका समस्या बारे परामर्श तथा औषधी वितरण गरिएको उनले जानकारी दिए । २२ सय वटा ठूला गाइभैसी, ४७ सय भेडाबाख्रा, ४० वटा बंगुर, ५० वटा कुकुर, करिब १८ सय कुखुराहरुका लागी औषधी वितरणका साथै परामर्श सेवा समेत प्रदान गरिएको बताइएको छ । शिविरबाट ९८ जना किसानहरु लाभान्वित भएका छन् ।
कार्यालयको चालु आवको वार्षिक स्वीकृत कार्यक्रम शिविर संचालन गरिएको कार्यालयले जनाएको छ । पशुहरुमा भइरहेको बाँझोपन तथा पशुहरुको आन्तरिक तथा बाह्य परजिवीबाट भइरहेको क्षति कम गर्न सो कार्यक्रम संचालन गरिएको बताइएको छ ।यसअघि गोरखा नगरपालिका, बारपाक सुलिकोट र सहिदलखन गाउँपालिकाका वडाहरुमा शिविर संचालन भएको कार्यालयले जनाएको छ ।




