
सवारी नियममा कडाई गरौ
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सप्ताहव्यापी कार्यक्रम आइतवार सम्पन्न भयो । मुख्य उदेश्य सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण रहेको थियो । भलै यस सप्ताहव्यापी कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ला तर, जिल्लामा सवारी नियममा पनि थप कडाई गर्नुपर्ने देखिएको छ ।
प्राय व्यस्त रहने सदरमुकामको मुख्य सडक सवारी सिक्ने र अनुभव बटुल्ने थलो बन्न थालेको छ । बिशेष गरी स्कुटर र मोटरसाइकल चालकका लागी । विना लाइसेन्स खुट्टा घिर्सार्दै भएपनि मुख्य सडकमै स्कुटर गुडाउनुपर्ने रहरले दुर्घटनाको जोखिम बढाइरहेको छ ।
प्राय सडकमा देखिने यस्ता दृश्यप्रति ट्राफिक प्रहरीको नजर पुग्न नसकेको हो वा वेवास्ता गरेको हो त्यो सम्बन्धित निकायलाई नै थाहा होला । तर देख्दा सामान्य लाग्ने यस्ता दृश्यले भविष्यमा ठुलै दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । दुर्घटनापछि पछुताउनुभन्दा बेलैमा सावधानी अपनाउनु बुद्धिमता हुन्छ ।
यसो भन्दै गर्दा स्कुटर र मोटरसाइकल चालकले मात्र सवारी नियम उल्लघंन गर्छन् भन्ने होइन । चार पाङग्रे सवारीहरु पनि कम छैनन् । सिट क्षमताभन्दा बढी यात्रु चढाउने, महँगो भाडा असुल गर्ने जस्ता समस्या ज्यूँ का त्यूँ छ । ध्वनी प्रदुषण गर्ने प्रेसर हर्न समेत ट्राफिक प्रहरीले हटाउन सकेको छैन ।
हुन त ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई निरन्तरता दिदै आएको छ । राती मापसे चेकजाँच पनि भइरहेकै छ । यसलाई निरन्तरतासँगै थप कडाई गर्न सकियो भने जिल्लामा दुर्घटनाको दर घट्ने थियो की ! यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।




