
भुस्याहा कुकुर नियन्त्रण गर
एउटी सुन्दरी मुसाले आफू संसारको सबैभन्दा ठूलोसित मात्र बिहे गर्ने अठोट गर्छे । अभिभावकले सबैभन्दा ठूलो सोचेर घामसित बिहेको कुरो चलाउन लैजान्छन् । घामले आफूलाई बादलले ढाकिदिने भएकाले बादल ठूलो भन्दै बादलतिर पठाउँछन् । बादलले पनि आफूलाई पहाडले लुकाइदिने भएकाले पहाड ठूलो भन्दै पहाडतिर पन्छ्याइदिन्छ ।
पहाडले आफूलाई मुसाले खोक्रो पार्न सक्ने हुँदा मुसै ठूलो भएकाले मुसासंगै बिहे गर्न सुझाव दिन्छ । यसरी मुसाको छोरी मुसैलाई भन्ने लोककथा नेपाली साहित्यमा प्रचलित छ ।
सामागाउँ, साम्दोमा फैलिएको कुकुर आतंक नियन्त्रणको सन्दर्भमा सोही कथाको जस्तै कहानी दोहोरिएको छ । छाडा तथा ह्रिंसक कुकुरको आतंक फैलिएपछि त्यहाँका बासिन्दाले कुकुर नियन्त्रण गर्न जोडदार माग गरेका छन् ।
भुस्याहा कुकुरले यो सिजनमा मात्र तीनजना विदेशी पर्यटकलाई आक्रमण ग¥यो । त्यसअघि पनि कस्तुरीलाई लखेटी लखेटी मारेको भिडियो सार्वजनिक भएपछि त्यहाँका जंगली कुकुर नियन्त्रण गर्न प्रशासनले तदारुकता देखायो ।
प्रशासन कार्यालयले त्यस क्षेत्रमा कार्यरत मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)लाई कुकुर नियन्त्रण गर्न आग्रह ग¥यो । एमक्यापले सो कुकुर जंगली नभै घरपालुवा भएकाले घरपालुवा सो आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ ।
उसले भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले नियन्त्रणको काम गर्नुपर्ने तर्क गरेको छ । भेटनरी अस्पतालले यो बर्ष बजेट तथा कार्यक्रम नभएकाले गाउँपालिकाले बजेट छुट्याए आफूहरुले प्राविधिक सहयोग गर्न सक्ने बतायो ।
पालिकाले भने आ–आफ्नो गाउँटोल, घरका कुकुरहरु आ–आफैले नियन्त्रण गर्नुपर्ने दायित्वबोध गराएको छ । सबै काम सरकारको मुख ताक्न नहुने भन्दै गाउँपालिका अध्यक्ष निमा लामाले आफ्नो ठाउँको छाडा कुकुर आफूहरुले नै व्यवस्थित गर्नुपर्ने तर्क गरेका छन् । जो जसले गरे पनि त्यहाँको भुस्याहा कुकुर नियन्त्रण होओस् ।




