| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकामा स्वस्थ वातावरण निर्माण गरौँ

गोरखा नगरपालिका अहिले जुवारी खेल्नमै व्यस्त छ । नगरप्रमुखका पिएले मर्यादा विपरीत काम गरेको भन्दै नगरपालिकाका ४६ जना कर्मचारीले उनलाई निश्कासन गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष मागपत्र पेश गरे ।
पिए अनिश अर्याल(ज्याक)बाट शिक्षा शाखा प्रमुखमाथि दुव्र्यवहार भएको, शिक्षक छनौट समितिले लिएको परीक्षाको कागजात रहेको फाइल नष्ट गर्ने दुश्प्रयास गरेको, अमूक व्यक्तिलाई अनियमित रुपमा पास गराउन दबाब दिएको, त्यसअघि पनि अर्का शाखा प्रमुखमाथि दुव्र्यवहार भएको आरोप उनीहरुको थियो । शाखा–शाखा चाहार्ने, कर्मचारीको काममा हस्ताक्षेप गर्ने, काम गर्ने वातावरण नबनाउने, कर्मचारीको मानमर्दन गरी आत्मबल गिराएको उनीहरुको भनाइ छ ।

त्यसको केहीदिनपछि कांग्रेसबाट निर्वाचित नगरपालिकाकी उपप्रमुखसहित सोही पार्टी संवद्ध कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरी नगरप्रमुखका पिएलाई निश्कासन गर्नुपर्ने माग गरेका थिए । नगरप्रमुख जस्तो मर्यादित व्यक्तिको पिएले बारम्बार अमर्यादित काम गरेको र सो कामका कारण नगरपालिका बद्नाम भएकाले निश्काशन गर्नुपर्ने एक मात्र माग राखेका थिए । यसबारे कार्यपालिका सदस्यहरुले नगरप्रमुखसित कुराकानी गर्दा नगरप्रमुखले निश्कासन नगर्ने जवाफ दिएका थिए ।

उनीहरुले पनि पिएले गरेका विभिन्न नराम्रा कामको रेकर्ड आफूहरुसित सुरक्षित रहेको भन्दै निश्कासन गर्नुपर्ने एक मात्र बटमलाइन भएको दाबी गरेका थिए ।

त्यसको केहीदिनपछि फेरि माओवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरुले शिक्षा शाखा प्रमुख चन्द्रबहादु खड्काको राजिनामाको माग गरेका थिए । शिक्षक छनौट गर्दा आफ्नो मान्छे छानेर नियुक्ती गरेको, एकजना वडाका कर्मचारीको सेवा सुविधा वृद्धि गराएको, कर्मचारी बीच गुटबन्दी गराएको जस्ता आरोप खड्कामाथि लगाएका थिए ।

त्यसको भोलिपल्ट शिक्षा शाखा प्रमुख खड्काले ध्यानाकर्षण पत्र प्रकाशित गरी आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका थिए । साथै तथ्यहिन, कपोलकल्पित आरोप आगामि दिनमा नलगाउन पनि आग्रह गरेका थिए ।

विकासका काम गर्ने चुनौति भइरहेका बेला नगरपालिका यस्ता अस्वस्थ वातावरणमा गुज्रनु दुखद कुरा हो । समस्याको वार्ता र संवादबाट समाधान गरी स्वस्थ वातावरण निर्माण गरौँ ।

प्रतिक्रिया दिनुहोस्