
आरुघाट गाउँपालिकामा एकहजार ७८ जनाको आँखा परीक्षण, ८१ जनाको शल्यक्रिया
आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ८५ वर्षीय विष्णुमाया गुरुङले आँखा देख्न छोडेको १५ वर्ष पुग्यो । आँखा नदेखिने समस्या भएपछि उनलाई यो सुन्दर संसार नै अन्धकार जस्तै लागेको थियो । यसअघि विभिन्न कारणले उनले आँखाको परीक्षण र उपचार गर्न पाएकी थिइनन् ।
आफ्नो गाउँमा आँखा जाँच तथा मोतियाविन्दूको शल्यक्रिया शिविर चल्दैछ भन्ने थाहा पाइन् । आफ्नै वडामा भएको आँखा शिविर आप्mनो आँखाजाँच गराइन् । डाक्टरले उनको आँखामा रहेको मोतिविन्दुको अप्रेशन गर्नुपर्ने बताए ।
उनीसँगै पालिकका १० वटा वडाका स्वास्थ्य संस्थामा वैशाख १७ गते देखि २४ गतेसम्म भएको निशुल्क आँखा परिक्षण शिविरमा एकहजार ७८ जनाको आँखा परीक्षण गरेका थिए । उनीहरु मध्ये ८१ जनाको भने मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको थियो । यहि वैशाख २५ र २६ गते पालिका केन्द्रमा रहेको आरुचनौटेको प्राथमिक स्वास्थ्य केन्द्रमा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भयो ।
८५ वर्षीय गुरुङको मोतियाविन्दुको सफल अप्रेशनसँगै उनले उज्यालो संसार देख्न पाएका थिए । विगत एक दशक सम्म गुमेको उज्यालो फर्किएसँगै उनी अत्यन्तै खुसी भए ।
सबैलाई देख्न पाएकोमा अन्यन्तै रमाइलो लागेको उनले बताइन् । अव देख्ने भएपछि घरको पिढीसम्म, शौचालय सम्म आउजाउ गर्न धेरै सहज हुने उनले जानकारी दिइन् । यसरी नै शिविरमा धेरै जनाले आँखा देख्ने भएपछि एक अर्काका खुसी साटासाट गरेका थिए ।
धेरै समय पछि पालिकामा पहिलो पटक आँखा परिक्षण शिविर संचालन भएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रविन थापाले बताए । आँखा शिविरमा आएको स्थानीय सबैको खान, बस्न र आउजाउको व्यवस्थाप पालिकाले नै व्यवस्थापन गरिएको उनले जानकारी दिए । आँखा परिक्षणको क्रममा धेरैमा आँखामा लगाउने चस्मा, औषधी वितरण गरिएको उनले बताए ।




