
वडाअध्यक्षहरुको आरोप सफेद झुठ हो, झुठको खेती नगर्नुस् : नगर शिक्षा प्रमुख खड्का
गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले आरोप प्रमाणित गरेर देखाउन चुनौति दिँदै आगामि दिनमा झुठको खेती नगर्न आग्रह गरेका छन् ।
मंगलबार छ जना वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गरी आफूमाथि तथ्यहिन आरोप लगाएको भन्दै उनले बुधबार ध्यानाकर्षण पत्रमार्फत अधिकारप्राप्त निकायबाट छानविन गरी आफूविरुद्ध लगाइएको आरोप सत्य प्रमाणित गर्न चुनौति दिएका छन् ।
अमुक कर्मचारीको करार म्याद थप गरी प्रशासकीय अधिकारको चरम दुरुपयोग गरेको, निम्न माध्यमिक तह अंग्रेजी विषय शिक्षक १ जनाको मात्र नाम निकालेको, कर्मचारीमा गुटबन्दी गरेको लगायतका आरोपमा कुनै सत्यता नभएको उनले बताएका छन् ।
उनले नगर कार्यपालिकाको २०७९।११।११ को निर्णय अनुसार नै नगरपालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीको म्याद थप भएको स्पष्ट पारेका छन् । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्नु मात्र आफ्नो कर्तव्य भएको उनले पत्रमा उल्लेख गरेका छन् ।
तलब भत्ता बढाएको भनेर आरोप लगाइएको एक कर्मचारीको विषयमा शिक्षा शाखा प्रमुख खड्काले यस बिषयमा आफ्नो कुनै भूमिका नहुने बताएका छन् । वडा कार्यालयबाट प्राप्त पत्रका आधारमा तोक लगाइएको तर सो कार्यान्वयन गर्ने, वा नगर्ने भन्नेमा आफ्नो कुनै भूमिका नरहेको उनले पत्रमा उल्लेख गरेका छन् । यस बिषयमा उनले सम्बन्धित कार्यालय र कानूनी व्यवस्थाबारे बुझ्न आग्रह गरेका छन् ।
साथै कर्मचारी गुटबन्दी गरेको आरोपका विषयमा उनले आफू कसैले नबोलाईकन नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमासमेत नजाने र आफ्नै शाखामा बसेर काम गर्ने कार्यशैली भएकाले सो आरोप कपोल कल्पित मात्र भएको जानकारी गराएका छन् ।
आफूले तोकेको शिक्षक छनौट गर्न केही व्यक्तिबाट श्रृङ्खलावद्ध दबाब आइरहेको र सो दबाब अवज्ञा गरेका कारण आफूमाथि अहिले विभिन्न लाञ्छना लगाइएको खड्काको दाबी छ । यस बिषयमा आफूसंग यथेष्ट प्रमाण रहेको उनको भनाइ छ । ‘जहाँसम्म म माथि शृङ्खलाबद्ध रुपमा विभिन्न लाञ्छना लगाई विभिन्न क्रियाकलाप भएका छन् सो बारेमा मिति २०८०।०१।१२ गतेको शिक्षक छनौटमा यो यो मान्छेलाई पास गराउन यी यी विषय विज्ञ बोलाइदिन दवाव गरिएको थियो,(जसको प्रमाण मसँग सुरक्षित रहेको छ)’, पत्रमा उनले लेखेका छन्, ‘मैले उक्त शिक्षक छनौट परीक्षा विशुद्ध शिक्षक छनौट समितिको अधिकार क्षेत्र भएकाले मैले त्यस्तो नियम विपरित काम हुन नसक्ने व्यहोरा दवाव कर्ताहरुलाई अवगत गराइएको थिए । यसको सत्य तथ्य यथार्थ सो परीक्षा समितिका पदाधिकारीहरुलाई सोध्न बुझ्न अनुरोध गर्दछु ।’ उनीहरुले अवाञ्छित रुपमा सिफारिस गरेको व्यक्ति अनुत्तिर्ण भएपछि प्रतिशोध लिन आरोप लगाइएको उनको भनाइ छ ।
नगरपालिकाका ६ जना वडाध्यक्षहरुले लगाएको आरोपमा कुनै पनि सत्यता नभएको, कपोकल्पित र सफेद झुट रहेको भन्दै उनले अबदेखि यस खालको झुटको खेती नगर्न आग्रह गरेका छन् ।
गत मंगलबार माओवादीबाट विजयी वडा नं. ४ का वडाअध्यक्ष लालप्रसाद भट्टराई, ७ का विष्णुप्रसाद श्रेष्ठ, ८ का ऋषिराम खत्री, ११ का रामबहादुर खड्का र १४ का गोपालबहादुर थापा र स्वतन्त्र वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कामाथि विभिन्न आरोप लगाई राजिनामा माग गरेका थिए ।
यसैबीच नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिले खड्कामाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै नियमानुसार शिक्षक छनौट प्रक्रिया अनुसार लिइएको परीक्षाको कागजात नष्ट गर्न खोजी शाखा प्रमुखमाथि गरिएको दुव्र्यवहारप्रति समितिले खेद प्रकट गरेको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न कर्मचारी युनियनले माग समेत गरेको छ ।
‘कर्मचारीको चरित्रहत्या गरी मनोवल गिराउने, राजिनामा दिन बाध्य बनाउने र आफ्नो व्यक्तिगत स्वार्थ अनुकुल कार्य गराउन गरिएका हर्कतहरुले सम्पूर्ण निजामती कर्मचारीमाथि प्रहार भएको अनुभूति गरिएको छ, यो कुनै पनि हालतमा ग्राह्य छैन,’ बिज्ञप्तीमा भनिएको छ ।
यो पनि पढनुहोस्




