
रामशाह चौतारालाई न्यायस्थलका रुपमा ब्राण्डिङ गरौँ
फूलको बासना वरिपरि, मान्छेको वासना डाँडा पारि भन्ने कथन त्यसै प्रचलनमा आएको होइन । मान्छेले गरेको सत्कर्मले गर्दा उसको यश फिँजिन्छ ।
गोरखाका राजा राम शाह पनि प्रतापी राजा हुन्, जसले बिक्रम संवत १८६३ देखि १८९० सम्म २७ बर्ष गोरखा राज्य सञ्चालन गरेका थिए । विशेष गरी उनले न्याय सम्पादनमा आधुनिकता ल्याए ।
उनी शाह वंशका चौथो राजा हुन् । उनले आफ्नो गोरखा राज्यमा पहिलो पटक ढक, तराजु, माना, पाथी, मुरी, दाम, पैसाको चलन चलाए । जिन्सीमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने चलन चलाएका थिए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन पनि उनले नै चलाएका थिए ।
राम शाहको न्याय प्रियताले गर्दा न्याय नपाए गोखा जानू भन्ने उक्ति अहिलेसम्म प्रचलित छ । उनका अनेकौँ प्रजा हितकारी कामले गर्दा केहि छिमेकी राज्य राम शाहको प्रशासनिक कौशलबाट प्रभावित भई स्वस्फूर्त गोरखामा गाभिन आएका थिए । उनका सुधारका कामले छिमेकी राज्यलाईसमेत प्रेरणा बनेको थियो ।
यिनले लकाङ, मिर्कोट, देउराली, धुवाँकोट, च्याङ्ली, मझुवा, अठारसयखोला आदि विजय गरी राज्य सुदृढ गर्ने काम गरेका थिए । वि.सं १६७१ मा गोरखाको पोखरीथोकमा मुरलीधर नारायणको मन्दिर, वि.सं. १६९३ मा रामेश्वर महादेवको मन्दिर पनि उनले नै स्थापना गरेका थिए । उनै न्यायमूर्ति, राष्ट्रिय विभूति राम शाहलाई सम्झना गर्दै गोरखा जिल्ला अदालतले गोरखाको रामशाह चौतारामा ७१ औँ कानून दिवस मनाएको छ ।
सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गोरखाका सबै पालिकामा रामशाह चौतारा बनाउनुपर्ने सुझाव दिए । राम शाह गोरखाको मात्र नभई नेपालकै महत्वपूर्ण सम्पति भएकाले न्याय सम्पादन समेत गर्ने गाउँपालिकाहरुले उनको नाममा गोरखाका सबै पालिकामा रामशाह चौतारा निर्माण गर्नुपर्ने उनको तर्क थियो ।
उनको तर्क मननीय छ । सबै पालिकाको न्यायिक समितिले आफ्नो कार्य सम्पादन गर्ने ठाउँलाई रामशाह चौतारा नामाकरण गरे उदाहरणीय काम हुनेछ ।




