
मनकामनामा किन बारम्बार किचलो ?
नेपालमा सबैभन्दा धेरै पर्यटक आउने थलोमध्यको एक हो, मनकामना मन्दिर । विशेषगरी भारतीय पर्यटक यहाँ आउँछन् । बर्षेनी १० लाखभन्दा धेरै धार्मिक पर्यटक यहाँ आउँछन् । त्यसमध्य पनि सबैभन्दा धेरै भारतीय पर्यटक हुने गर्छन् ।
अहिले धेरै ठाउँमा केवलकार बनेको छ, बनिरहेको पनि छ, केवलकारको फेसनजस्तै ।
तर मनकामना केवलकारजस्तो धेरै व्यस्त अन्य केवलकार छैनन् । यसमा दुई कारण छन्, एक मनकामना मन्दिरप्रतिको आस्था र दोस्रो राजधानी काठमाडौँ जाने बाटोमा पर्ने हुँदा ।
मनकामनाले धर्म प्रवद्र्धनका साथसाथै प्रत्यक्ष, परोक्ष धेरैको रोजीरोटी दिलाइदिने काम गरेको पनि छ । त्यसैले धेरै दृष्टिकोणले मनकामनाको महत्व छ ।
तर दुखका साथ भन्नुपर्छ, बेलाबेला मनकामना मन्दिर क्षेत्रमा हुने गरेका घटनाले बदनाम कमाउँदै गएको छ । यदि यो बढ्दै गयो भने, मनकामना आउने धार्मिक पर्यटकहरु घट्नेछन् । त्यसको असर यहाँका व्यवसायी, उद्यमीहरुलाई नै पर्नेछ ।
केही महिनाअघि मनकामनाको एक होटल व्यवसायी र ग्राहक बीच भएको विवाद आलोचित भयो ।
पत्रपत्रिकामा छापिएको त्यो खबरले मनकामनाका व्यवसायीप्रति हेर्ने दृष्टिकोण बदलिएको छ । अहिले फेरि मन्दिरका कर्मचारीले भक्तजनमाथि हातपात गरेको भन्ने खबर छ । त्यसमाथि पनि सबैभन्दा धेरै भक्तजन आउने भारतका नागरिकमाथि हातपात भएको छ । यो निकै दुख लाग्दो खबर छ ।
घटनाका दोषी जोसुकै होउन्, मन्दिरका कर्मचारी संयमित हुनुपर्दछ, किनभने बाहिरबाट आउनेहरु भनेका पाहुना हुन् । आफ्नो ठाउँमा आस्थाका साथ आउनेमाथि आतिथ्य गर्नेले जहिले पनि झुक्नैपर्छ ।
यसरी विभिन्न कारण देखाउँदै अतिथिहरुमाथि दुव्र्यवहार भयो भने त्यसको दुश्प्रभाव अरुलाई पर्ने होइन, पहिलो दुश्प्रभाव मनकामनाबासीलाई नै पर्नेछ । त्यसपछि जिल्ला र देशको नाम जोडिन्छ । त्यसैले मनकामनाबासी लव्धप्रतिष्ठित वुद्धिजीविहरुले छलफल गरी आउँदा दिनमा मनकामनामा यस्ता बद्नाम हुने खालका कुनै पनि घटना हुन नदिन जोड दिनुपर्छ ।




