| सोमवार, कार्तिक २३, २०८३

घ्याल्जेन हत्या आरोपमा छिरिङ पक्राउ

चुमनुव्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या भएको १० दिनपछि एक पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ५९ बर्षीय छिरिङ ढुण्डुप लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घ्याल्जेन गत बैशाख १७ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको अबस्थामा भेटिएकाले स्थानीयबासी तथा प्रहरीले उनको हत्या भएको आशंका गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमाण्डको टोली घटनास्थल पुगेर १० दिनसम्म अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए ।

‘घाँटीको अगाडि भागमा चक्कु प्रहार गरेर मारेको अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘तत्कालको आवेगको रिसिवीका कारण हत्या गरेको हुनसक्ने भन्ने छ ।’

पक्राउ परेका ढुण्डुपबिरुद्ध सोमवार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्