
साइबर अपराधबाट बच्न आफै सचेत बनौँ
गोरखामै सेवा गरेर सरुवा भई गएका एक प्रमुख जिल्ला अधिकारीले केही दिनअघि आफूलाई फेसबुकको म्यासेञ्जरमा एक मान्यगन्यले पैसा सापटी मागेको, तर पछि फोन गरेर बुझ्दा ती मान्यगन्यको फेसबुक कसैले ह्याक गरेर ह्याकरले पैसा मागेको पत्ता लगाएको बारे फेसबुककै स्टाटसमा लेखेर सबैमा अवगत गराएका थिए ।
तिनताका धेरैले यस्तै समस्या भोगेको लेखेर सबैलाई सचेत गराएका थिए । लुटपाट, चोरी, डकैतीको नयाँ स्वरुप हो त्यो ।
पहिले(पहिले गाउँ र गाउँलेसंग खासै पैसा हुन्नथ्यो । अलिअलि पैसाको मुख देख्ने भनेकै लाहुर, कलकत्ता, कुनाघाट, जुनाघाट, गुजराँत गएर आउनेहरुसंग हो । गाउँगाउँमा अहिलेझैँ मोटरबाटो हुन्थेन ।
जब विदेशमा रगत, पसिना बगाएर कमाएको दुईचार पैसा र घरायसी सामान भरियालाई बोकाएर गाउँ फर्कन्थे, अनि डाँकाहरु एकान्त कुना, जंगल, गौँडो बथानेर बस्थे । आक्रमण गर्थे, लुट्थे । कतै पकेट मारिन्थ्यो, कतै वैँक लुटिन्थ्यो, कतै यात्रुबाहक बस लुट्थे, कतै पसल लुटिन्थ्यो, कतै घर फुट्थे । मेला जात्रा लाग्थ्यो । बर्षभरिको रिस संगालेर जात्रामा पोख्थे । गाउँले(गाउँलेको हानाहान मच्चिन्थ्यो ।
तर अहिले समय बदलिएको छ । अहिले यस्ता प्रकृतिका अपराधका घटना हुदैनन् । अहिले सबैको हातहातमा एन्डूोइड मोबाइल छ, अपराध कर्ममा लाग्नेहरुले लुटपाट मच्चाउन होस् वा कुनै पनि खालको अपराधको घटना घटाउन सूचना प्रविधिको प्रयोग गर्छन् ।
च्याट गर्दागर्दै कसैको बिहे भइरहेको छ,, च्याट गर्दागर्दै कसैको घरभार बिग्रिएको छ । अहिले अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदको हुने गरेको छ । त्यसमा सूचना प्रविधिको भूमिका धेरै ठूलो छ ।
सदुपयोग गरे सूचना प्रविधि वरदान हो, दुरुपयोग गरे सूचना प्रविधि बरबाद पनि हो । त्यसैले यसलाई कसरी प्रयोग गर्ने भन्नेकुरा स्वयंमा निर्भर छ ।




