| शनिबार, अशोज १६, २०८३

साइबर अपराधबाट जोगिन नागरिक स्वयम सचेत हुनुपर्ने सुझाव

बढ्दै गएको साइबर अपराधबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला सदरमुकाममा शनिवार आयोजित साइवर अपराध तथा साइबर सुरक्षा तालिम तथा सचेतना सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन् ।

क्यान महासंघ गण्डकी प्रदेशको आयोजना, क्यान महासंघ गोरखा शाखाको संयोजन तथा नेपाल दुरसंचार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा एक दिने कार्यशाला गोष्ठी भएको हो ।

गोष्ठीमा क्यान महासंघका केन्द्रीय सदस्य सुभाष खड्काले साइबर सुरक्षा सम्बन्धी सहिजकरण गरेका थिए । सामाजिक सञ्जालमा आएका म्यासेजहरु खोल्दा ध्यान दिनुपर्ने र सार्वजनिक स्थलमा भएका वाइफाइ लगायत इन्टरनेटहरुबाट आर्थिक करोबार गर्न नहुने उनले बताए ।

सरकारले असल शासन स्थापना गर्नका लागि वेबसाइट तथा सफ्टवेयरहरु निर्माण गरेर मात्र नहुने बताउदै उनले यसभित्र राख्ने संवेदनशील डाटाहरुलाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्ने उनले जानकारी दिए ।

क्यान महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापामगरले प्रविधि नियन्त्रण भन्दा यसबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्नुपर्ने बताए । नेपाल साइबर अपराध नियन्त्रणका लागी विद्युतीय ऐन २०६३ सालमा बनेको ऐन संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

गोरखा नगरपालिकाकी उपप्रमुख सपना पुनले साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम अति आवश्यक रहेको बताइन् । कार्यक्रममा क्यान महासंघ गोरखा अध्यक्ष सुदिप कोइराला, क्यानका केन्द्रीय सदस्य सुभाष खड्का, चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका मनकाजी श्रेष्ठ, प्राध्यापक, सुरक्षाकर्मी, सञ्चारकर्मी, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्