
दोर्जे ग्याल्जेन घटनाका दोषी पत्ता लगाऊ
गोरखामा बेलाबेला चिरुको रौँ, सुन तस्करी गर्ने, बलात्कार तथा हत्यालगायतका अपराधका घटनाहरु हुने गरेका छन् । कुनै बेला त्यस्ता अपराधका घटनाबारे अनुसन्धान गर्न प्रहरी सफल भएको छ ।
जसले गर्दा यस्ता घटना घटाउन मान्छेहरु निरुत्साहित भएका छन्, कतिपय घटना भने रहस्यको गर्भमै छन् । हत्याकै घटनाका कतिपय आरोपीहरु पक्राउ पर्न सकेका छैनन् ।
नौ करोड रुपैयाँ ठगी गरेका देउरालीका अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । तर दुर दराजमा भएका कतिपय हत्याका घटनाका दोषीसमेत प्रहरीले पत्ता लगाई कारबाही गर्न सफल भएको छ ।
दुर्गममा भएको यस्तै एउटा घटना बिगत आठ दिनदेखि रहस्यको गर्भमै छ । दुर्गम क्षेत्र अन्तर्गत पर्ने नाम्रुङमा गत वैशाख १७ गते अन्दाजी ४५ बर्षका दोर्जे ग्याल्जेनको शंकास्पद मृत्यू भएको छ । मृतक आफ्नै घरभित्रै फेला परेका छन्, उनको गर्दनमा गहिरो चोट छ । शंकास्पद बिभिन्न बस्तुहरु पनि भेटिएका छन् ।
आठ दिन बित्यो, लाश सड्न थालिसकेको छ । पोस्टमार्टम गर्न सदरमुकाम वा आरुघाट ल्याउन पनि समस्या भएको छ । तर प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्न सकेको छैन । यस्तो घटना फेरि पनि नदोहोरियोस भनेर स्थानीयबासीहरु छिटोभन्दा छिटो दोषी पहिचान गरी पक्राउ गर्न जोडबल गरिरहेका छन् ।
अपराधीको कुनै पार्टी पनि हुदैनन् । त्यसैले कुनैपनि पार्टीले अपराधी पत्ता लगाउन बाधा ब्यवधान गर्दैनन् । निश्पक्ष रुपमा नियन्त्रणमा लिई अनुसन्धान गर्न स्थानीयबासी सहयोग गर्न तयार छन् ।
स्थानीयको माग तथा साथ सहयोगलाई उपयोग गरी प्रहरीले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कारबाही पक्रिया अघि बढाउनुपर्छ ।




