
लम्पी स्कीन रोगको संक्रमण निदान गर
गोरखाका तीन पालिकाका घरपालुवा पशु चौपायामा लम्पी स्कीनको संक्रमण देखा परेको छ । सहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका घरपालुवा जनावरमा सो रोगको संक्रमण देखिएको हो ।
भेटेनरी अस्पताल तथा पशुरोग विज्ञकेन्द्रले गरेको नमूना परीक्षणमा लम्पी स्कीन देखिएको हो । नमूना परीक्षण गरिएका अधिकांश पशुचौपायालाई सो रोगको संक्रमण देखिएपछि अवस्था चिन्ताजनक छ ।
लम्पी स्कीन भएपछि दिनका लागि पालिने पशुचौपायाले दूध दिन छाड्छ । मासुका लागि पालिने जनावरको मासु खानयोग्य हुदैन । त्यतिमात्र होइन, यो रोगले पशुचौपाया मर्छन् पनि । त्यसैले यो रोग गोरखाका लागि चिन्ताको विषय हो ।
अहिले देशभर यो रोगको संक्रमण देशभर फैलिएको छ ।
नमूनाका रुपमा थोरै पशुचौपायामा परीक्षण गर्दा अधिकांश वा कुनै पालिकामा सतप्रतिशतमा नै सो रोग देखिनु चिन्ताजनक छ । यो रोग जिल्ला भर फैलदै जानु पनि असम्भव छैन । सावधानी नअपनाए, कुन रोगी हो, कुन निरोगी हो, थाहा पत्तो हुदैन । चर्ने क्रममा रोगी, निरोगी छ्यासमिस हुन्छन् । अनि यो रोग महामारीका रुपमा पशुचौपायामा फैलन्छन् । परिणाम ज्यादै दुखद, अकल्पनीय पनि हुनसक्छ ।
धेरै जिल्लाहरुमा फैलिसकेको यो रोगबाट मकवानपुरमा मात्र ४५ गाईवस्तु मरिसकेका छन् । पछिल्लोपटक एक सय ५५ वटा नमुना परीक्षण गर्दा एक सय २८ वटामा लम्की स्किन रोग पुष्टि भएको छ । यो धेरै डरलाग्दो अबस्था हो । त्यसैले बेलैमा सोच विचार गरी यो संक्रमणलाई प्रकोप हुनुअघि नै नियन्त्रण गर्न जरुरी छ । अन्यथा, जिल्लाको अवस्था बिकराल हुन सक्छ ।
रोगको पहिचान, रोगी पशुचौपायाको पहिचान गरी यसलाई यथासीघ्र नियन्त्रणका लागि कदम चाल्नु पर्छ ।




