| सोमवार, कार्तिक २३, २०८३

‘गाउँ रित्तियो, खेतबारी बाँझियो, गाउँ फर्क अभियान चलाऔ’

ठूला हण्डर–ठक्कर खाएपछि मुलुकले ठूलो अठोट गर्छ र विकासको काँचुली फेर्छ भन्ने कथन थियो, तर विगतका केही ठूला अप्रिय घटना र त्यसपछिको परिवर्तनको अध्ययन गर्दा यो तथ्य नेपालका सन्दर्भमा पुष्टि हुन सकेन ।

कसैकसैले २०७२ सालको भूकम्पपछि नयाँ मोडलमा देशले विकासको कोल्टो फेर्छ भन्ने विश्लेषण गर्थे । २०७२ सालमा संविधान घोषणा भएपछि भारतले गरेको लामो समयसम्मको नाकाबन्दीबाट पाठ सिकेर नेपाल नयाँ तौरतरिकाले अघि बढ्नेछ भनेर कसैकसैले तर्क गर्थे । कोभिडले आक्रान्त भएको विश्व, कोभिडपछि विकासको छलाङ मार्छ । त्यही गतिमा नेपालको पनि मुहार फेरिन्छ भन्ने कतिपयको भविष्यवाणी थियो ।

कठिन काल जेनतेन बित्यो, त्यसबाट पाठ सिकेर नयाँ उचाइ चुम्ने नीति कसैले अवलम्बन गरेन । कसैले नयाँ मोडलमा अघि बढ्ने अठोट गरेनन्, फलतः नेपाल अहिले आर्थिक संकटको संघारमा छ ।

अहिले नवयुवाहरु गाउँघरमा भेट्न दुर्लभ छ । पुरुष नै गाउँमा अत्यन्त कम छन् । जसले गर्दा गाउँघर रित्तिएको जस्तो देखिन्छ । काम गर्ने जनशक्ति नहुँदा खेतबारी बाँझिएका छन् । उत्पादन घटेपछि आयात बढ्नु स्वभाविकै हो । यसले दिनदिनै नेपाललाई गरिबीको पाताले यात्रामा गति बढाइरहेको छ ।

अहिले काठमाडौँमा जमेका गोरखाका विभिन्न पालिकाबासीहरुले आफ्नो पालिकाको विकासका लागि अन्तरक्रिया कार्यक्रम गरी चिन्ता व्यक्त गर्न थालेका छन् । भर्खरै भीमसेनथापा गाउँपालिकाको अन्तरक्रिया काठमाडौँमा सम्पन्न भयो । त्यसअघि धार्चे, पालुङटारले पनि यस्तै मोडलको कार्यक्रम सम्पन्न गरेको थियो । अझै कतिपय पालिकाले त्यस किसिमको कार्यक्रम आयोजना गर्दैछन् ।

सुझाव दिनेहरु सबैको मुखबाट आउने साझा सुझाव यही हो कि, गाउँठाउँ रित्तिए, खेतबारी बाँझिए, उत्पादनमुलक कार्यक्रम गरौँ, लगानीको वातावरण सिर्जना गरौँ, युवाहरुलाई गाउँ फर्काऔँ, इत्यादि ।
सुझाव मननीय छ । कार्यान्वयन गर्न सके अत्युत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्