| सोमवार, कार्तिक २३, २०८३

सुसंस्कृत परम्परा ‘माक्पा’

कतिपय संस्कृतिहरु समय सापेक्ष हुदैनन्, फलस्वरुप समयसंगै परिमार्जित हुदै जान्छन् अथवा डाइनोसर झैँ लोप भएर जान्छन् । कतिपय संस्कृतिहरु भने अत्यन्तै व्यहारिक हुन्छन्, जुन जिवन्त रहन्छन् ।

उत्तरी गोरखाको गुरुङ, घले तथा भोटे लामा समुदायमा प्रचलित माक्पा परम्परा एक व्यवहारिक परम्परा हो, जुन अहिलेसम्म पनि विद्यमान छ । भविष्यमा पनि मेटिने सम्भावना छैन ।

सो क्षेत्रको स्थानीय भाषामा ‘म्हा’ भनेको ज्वाइँ हो । ‘पा’ को अर्थ ठ्याक्कै मान्छे नभए पनि यसको अर्थ मान्छेसित नजिक छ । अथवा ‘माक्पा’ भनेको ससुराली घरमा बस्ने ‘ज्वाइँ मान्छे’ हो ।

जसको छोरा छैनन्, सन्तानका नाममा छोरी मात्रै छन्, उनीहरुको घरमा माक्पा अर्थात घरज्वाइँ बस्छन् । घरज्वाइँले ससुराली घरमा त्यो घरको छोराले झैँ सम्पूर्ण काम गर्नुपर्ने हुन्छ । सासु ससुराको स्याहार सम्भार, उनीहरुको जायजेठा, झिटीझाम्टो, चल, अचल श्रीसम्पत्तिको रक्षा गर्नुपर्छ । सासु, ससुराको सेखपछि उनीहरुका छोराले झै भएभरका सबै घर, जग्गा लगायतका चल, अचल सम्पत्ति सबै ज्वाइँले नै पाउँछन् ।

जीवनको आखिरि घडीमा छोराले झैँ छोरी र ज्वाइँले स्याहार सम्भार अन्तिम संस्कार गर्ने भएपछि यस क्षेत्रमा छोरा र छोरीमा हेर्ने दृष्टिकोणमा कुनै भिन्नता हुदैन । अथवा छोरा जन्मे अतिरिक्त खुशी हुने छोरी जन्मे अतिरिक्त बेखुशी हुने परम्परा छैन ।

दुर्गम भेगमा प्रचलित यो संस्कृति सुगमका लागि पनि प्रेरणादायी छ ।
तल्लो भेग(सुगम) वा सहरी क्षेत्रमा अहिले पनि छोरा जन्मे अतिरिक्त खुशी, छोरी मात्र जन्मे अतिरिक्त दुखी बन्ने चलन छ । तर छोराले गर्ने काम छोरीले पनि गर्न सक्छन् भने दुख मान्नु पर्ने अवस्था नै आउँदैन । माक्पा परम्पराबाट तल्लो भेगका बासिन्दाले पनि सिक्नु पर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्