| सोमवार, कार्तिक २३, २०८३

लामो खडेरीपछि सिद्धबाबासित पानी माग्दै जलधारा


लामो समयदेखि खडेरी परेर खेतीबाली सुक्न थालेपछि यहाँका किसानहरुले पानी माग्दै सिद्धबाबा र जालपादेवीलाई जलधारा चढाएका छन् । पालुङ्टार नगरपालिका ९ सिस्नेरी, फेदी, सेरा, भुसालगाउँ, डुम्रिगैरा, बोहोरीभञ्ज्याङ, मिरकोट, लगायतका टोलका किसानले सिद्धबाबालाई र रिपथोक, छापथोक, बोहोरिभञ्ज्याङ, हड्खलडाँडा, अम्बोटे टोलका किसानलाई जालपादेवीलाई जलधारा चढाएका हुन् ।

सिद्धबाबालाई जलधारा चढाएपछि फेदीको चौरमा बाजागाजा, नाचगान र पानी छ्यापाछ्याप गरेर रमाइलो गर्दै स्थानीयबासी ।
तस्वीर : डम्बर राना


मंगलबारको साइत पारेर दुवै मन्दिरमा होम, रुद्री गरी जलधारा गरिएको स्थानीय डम्बरबहादुर राना मगरले जानकारी दिए । ‘पुरेत लगाएर रुद्री, होम, पूजापाठ गरिन्छ । अनि बाजागाजासहित जलधारा चढाइन्छ’, उनले भने, ‘देवतालाई जलधारा चढाएपछि गाउँलेहरु धुमधामले नाचगान र पानी छ्यापाछ्याप गरी रमाइलो गरिन्छ ।’


स्वर्गका इन्द्रसंग पानीमाग्ने संस्कृति सो गाउँको पुरानै रहेको अर्का स्थानीय होमराज सेढाईँले जानकारी दिए । ‘पानी परेको बर्ष गरिदैन । पानी नपरेर लामो खडेरी परेको बर्ष जलधारा गर्ने चलन छ’, उनी भन्छन्, ‘जलधारा गरेपछि पानी पर्छ भन्ने परापूर्वकालदेखिको चलन हो । हेरौँ, यसबर्ष अब के हुन्छ ।’


लामो खडेरीका कारण बारीमा रोपिएको मकै नउम्रिएको किसानहरुको गुनासो छ । कतै उम्रिएको मकै पनि खडेरीले सुकेको छ । खडेरीका कारण खोला सुकेपछि फाँटमा रोपिएको जुडीधानमा पनि सुख्खा लागेको किसानहरुको गुनासो छ ।

सिद्धबाबालाई जलधारा चढाएपछि फेदीको चौरमा बाजागाजा, नाचगान र पानी छ्यापाछ्याप गरेर रमाइलो गर्दै स्थानीयबासी ।
तस्वीर : डम्बर राना

प्रतिक्रिया दिनुहोस्