| सोमवार, कार्तिक २३, २०८३

वडाअध्यक्षको उदारतालाई सलाम

अहिलेको शासकीय संरचनामा वडा सबैभन्दा महत्वपूर्ण तह हो, जुन तह जन–जनसंग जोडिएको हुन्छ । व्यक्ति–व्यक्ति चिन्नुपर्ने, व्यक्ति–व्यक्तिको सुख–दुखसंग जोडिनुपर्ने तह हो वडा तह । जुनसुकै सिफारिस गर्नुपरे पनि आधार वडातह हो । वडाले चिनेको व्यक्तिलाई मात्र राज्यले चिन्छ ।

सर्वसाधारणलाई सरकारको स्वाद अनुभूति गराउने पनि वडाका जनप्रतिनिधिले हो । वडाका जनप्रतिनिधिले जस्तो व्यवहार गर्छन्, सर्वसाधारण जनताले सरकारलाई त्यसरी नै चिन्छन् । चाहे संघ सरकारको वा प्रदेश सरकारको वा पालिका सरकारको सेवा प्रवाह प्राप्त गर्ने पनि सर्वसाधारणले वडातहबाटै हो ।

त्यसैले सरकारको प्रस्तुति वडाका जनप्रतिनिधिको गतिविधिमा निर्भर गर्छ । त्यति मात्र होइन, जुनकुनै पार्टीको लक्ष्य, उद्देश्य, एजेण्डा पनि वडाका जनप्रतिनिधिमा निर्भर गर्छ । वडाका जनप्रतिनिधिले जस्तो व्यवहार गर्छन्, उनी संवद्ध पार्टी त्यस्तै रहेछ भनेर सेवाग्राहीले महशुस गर्छन् । त्यसैले वडाअध्यक्ष तथा सदस्यहरुले धेरै संवेदनशील भएर व्यवहार गर्नु जरुरी छ । वडाअध्यक्षले गर्ने व्यवहार उनी संवद्ध पार्टीको प्रतिविम्व हो ।

आरुघाट गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष धनेन्द्र धमलाले आफू वडाअध्यक्ष भएबापत पाएका सम्पूर्ण भत्ता आफ्नो वडाभित्रका विद्यार्थीहरुलाई सहयोग गर्नमा खर्च गरे । बर्षदिनको भत्ताबापत पाएका दुईलाख भन्दा धेरै रुपैयाँले स्टेशनरी सामग्री खरिद गरी आफ्ना वडाका मनासुलु आधारभूत विद्यालयमाका २० जना, भवानी प्राविका १८ जना, गणेश माबिका २१९ जना र जामुने प्राविका ४९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

गाउँमा रहेका निम्नवर्गका बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले तथा शैक्षिक सामग्रीकै अभावका कारण विद्यालय जान नसक्ने अबस्था नआओस् भन्ने उद्देश्यले धमलाले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेका हुन् । नेपाल सरकारले किताब दिने, वडा अध्यक्षले कापी, कला दिने र पालिकाले खाजालगायतका सुविधा दिने हो भने बालबालिका पठनपाठनमा आकर्षित हुन्छन् भन्ने वडाअध्यक्ष धमलाको बुझाइ छ । त्यसैले आफ्नोतर्फबाट गर्ने सहयोग गरेको उनी बताउँछन् ।

यो उनको महानता हो, यसको सह्राना गर्नुपर्छ । यस्तै मनकारी वडाअध्यक्षहरु अरु पनि निस्किए भने सामुदायिक विद्यालयका बालबालिकाहरु पढाइप्रति आकर्षित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्