| सोमवार, कार्तिक २३, २०८३

प्रविधिमैत्री बन्दै गोरखा नगरपालिका

यो दुनियाँ सूचना र प्रविधिले धेरै साँगुरो बनेको छ । सूचना र प्रविधिका कारण जीवनशैली अत्यन्तै सरल, सहज, सुगम, सुलभ पनि भइरहेको छ ।

अर्थात सूचना प्रविधि अहिलेको विश्वका लागि वरदान सावित भएको छ । अहिले भन्ने गरिन्छ, जो सूचना र प्रविधिमा समयसंगै अघि बढिरहेको छ, त्यो समायोजन हुदै अघि बढ्न सक्छ, जो सूचना प्रविधिसित पछि पर्छ, त्यो युगबाट पछि पर्छ भनेर ।

अहिले व्यक्ति, समूह, सरकारी वा गैरसरकारी संस्थाहरुलाई अब प्रविधिको विकाससंगै गति मिलाउनु पर्ने बाध्यता छ । समयले त्यही मागेको छ । जसले प्रविधिको विकाससंग ताल मिलाउन सक्दैन, उ आलोचित हुनु पर्ने भएको छ । त्यसैले पालिकामा सूचना प्रविधि अधिकृत भनेर नियुक्ति गर्ने व्यवस्था छ ।

कतिपय पालिकाले आइटी इञ्जिनियरको प्रयोग गरेर सुधारको गतिमा अघि बढिरहेका छन्, कसैले सूचना प्रविधिका इञ्जिनियरलाई अन्य काममा अल्मल्याएर सूचना प्रविधिमाचाहिँ पछाडि नै पर्ने काम भइरहेको छ ।

गोरखा नगरपालिकाले अब सिफारिस लगायतका विविध काम सूचना प्रविधिको प्रयोग गरेर सम्पादन गर्ने भएको छ । हरेक वडा कार्यालयबाट हुने काम डिजिटल माध्यमबाट हुने भएको छ । साथै हरेक शाखाहरुबाट हुने काम पनि प्रविधिमैत्री हुने भएको छ । हार्डकपीमा लेख्ने गरिएको सिफारिसहरु अब डिजिटल रुपमा उपलब्ध गराउने छ भने शाखाहरुमा पनि सबै काम डिजिटल माध्यमबाट हुने छ । त्यसका लागि सेवाग्राहीले निवेदन पनि इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन् ।

निवेदन तथा सिफारिस एउटै ढाचामा हुनेछ । चिठीपत्रहरु सबै सर्भरमा रेकर्ड हुन्छ, डाटाबेस सबै सेभ हुन्छ, यसरी सेभ भएका डाटाहरु बर्षौँसम्म पनि हेर्न सकिन्छ ।

शाखाहरु तथा वडा कार्यालयबाट जारी हुने हातले लेखेको सिफारिसहरु अब कम्प्युटरमा रहेको फम्र्याटमा खाली ठाउँ मात्र भर्ने र केही सच्याउनुपर्ने भएमा सच्याएर सिफारिस दिने व्यवस्था लागु हुनेछ ।
पालिकाको यो प्रयास सह्रानीय छ । यसलाई अझै व्यवस्थित बनाउँदै लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्