
धार्चेको विकास गर्न काठमाडौँ बस्ने धार्चेबासीसंग राय सुझाव संकलन
आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजनको पूर्वसन्ध्यामा धार्चे गाउँपालिकाले काठमाडौँमा बसोबास गर्ने धार्चेबासी र विज्ञसित राय सुझाव संकलन गरेको छ । काठमाडौमा शनिबार धार्चेको विकासको सम्भावना र सवाल विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरी राय सुझाव संकलन गरेको हो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले पालिकाले हाल संचालन गरिरहेको विभिन्न विकास निर्माणका कार्य र आगामी वर्षमा गर्नुपर्ने कार्यक्रम तथा योजनाहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए । धार्चे पालिकाले आगामी तीन वर्षको लागि वार्षिक योजना बनाइहरेको र पालिकाभित्रका योजनाहरु त्यसमा नछुटोस भन्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम संचालन गरिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘अहिले सरोकारवाला र विभिन्न क्षेत्र तथा व्यवसायमा आवद्ध हुनुभएका धार्चेबासीहरुबाट आ–आफ्नो राय दिने र संकलन गर्ने काम भएको छ, उनीहरुको रायलाई छनौट गरेर आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गर्छौँ’, उनले भने । धेरै विकास निर्माण, पर्यटन, कृषिका बारेमा सुझाव प्राप्त भएको उनले बताए ।

कार्यक्रममा स्थानीय स्तरमा निर्माण भइरहेको हाइड्रोपावरलाई केन्द्रीय प्रसारण लाइनसम्म जोडन माछाखोलामा २२० केभिए प्रसारण लाइनको सबस्टेशन स्थापना गर्ने र पालिकाका वडा जोड्ने सडक लगायतका विषयमा सुझाव आएको उनले बताए ।
त्यस्तै, आरुघाटदेखि माछीखोलासम्म सडक कालोपत्रे गर्ने र आरुघाट सोती मान्बु काशीगाउँ केरौँजा सडक र ११ किलो छेवेटार भालुस्वार बारपाक सडकखण्डलाई संशोधन गरेर लाप्राक माछाखोला सडक बनाउने विषयमा पनि छलफल भएको उनले बताए । स्थानीय तहको गतिविधिका बारेमा जनताको दृष्टिकोण थाहा पाउनका लागि पनि उक्त कार्यक्रम संचालन गरिएको उनको भनाइ छ ।
कार्यक्रममा सबै जनाबाट प्राप्त सल्लाह, सुझाव टिपोट गरेको र त्यसमध्य पनि पालिकामा कुनकुन सम्भावना छ, त्यसको स्रोत के हो ? प्राविधिक र भूगोलको हिसाबले लागु गर्न सकिने योजनाहरु छनौट गरिने पालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको नीति तथा कार्यक्रम योजनाहरु सफल पार्नका लागि सबैको सहयोग, सहकार्य, समन्वय आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा धार्चे गाउँपालिका वडा नं ४ का पर्यटन व्यवसायी तुलसिंङ गुरुङले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि धार्चेको यारुबगरबाट गणेशहिमालको बेसक्याम्पसम्म जाने पदमार्ग निर्माण गर्नुपर्ने बताए । पदमार्गसँगै गणेश हिमाल धार्चेबाट नै चढ्ने प्रावधान बनाउनका लागि पालिकाले अध्ययन गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए । त्यस्तै, रुन्चेतमा क्यानोनिङका लागि अन्यन्तै राम्रो ठाउँ भएको बताउदै पालिका भित्रका पर्यटकीय स्थलहरुमा पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्ने र आरुघाटदेखि जगत सडक पिच हुनुपर्ने उनले बताए ।
वडा नं ३ उहियाका बुद्धि घलेले पालिका र वडाले कार्यान्वयन गर्ने योजनाहरु दिगो र गुणस्तरीय हुनुपर्नेमा जोड दिए । पालिकाबाट कार्यान्वयन भइरहेको योजनाहरु प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताउदै कर्मचारी अभाव देखाएर पन्छिने गरेको उनले बताए । पालिका र वडाका जनप्रतिनिधिहरुले एकल रुपमा योजना छनौट गर्ने गरेको बताउदै सबै छलफल र आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने र ती योजनाहरुको प्रभावकारी अनुगमन हुनुपर्ने उनले बताए ।
वडा नं ४ लाप्राकका दलबिर गुरुङले लाप्राकका नमूना बस्तीमा बस्ती नै कुरुप देखिने गरी ठूलठूला घरहरु निर्माण हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका थिए । एकीकृत बस्तीमा घरको आँगन समेत नराखी ठूला घर निर्माण हुन थालेको बताउदै यसले नमूना गाउँ भनेर प्रचारप्रसार गर्नु औचित्य नभएको उनले बताए ।
वडा नं ५ का धन बहादुर गुरुङले धार्चेमा आलुको प्रशस्त सम्भावना भएकाले आलु बीउ केन्द्र गुम्दा सहित अन्य वडामा पनि विस्तार गर्नुपर्ने बताए ।
वडा नं ५ गुम्दाका सुरेश गुरुङले पालिकामा विगतदेखि नै कर्मचारी कम देखिएको बताउदै कर्मचारी अभावमा विकास निर्माण कार्यमा ढिलासुस्ती गर्न नहुने बताए । उनले छिट्टै कर्मचारी पदपुर्तिको लागि पहल गर्न समेत आग्रह गरेका थिए ।
वडा नं ४ का पर्यटन व्यवसायी मणि गुरुङले पालिकाको विकास निर्माणमा संघ, प्रदेशको बजेटले मात्र पर्याप्त नहुने बताउँदै पालिकाको आन्तरिक स्रोतको पहिचान गर्नुपर्ने र नीजि क्षेत्रहरुलाई सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । विकास निर्माणका गतिविधिहरुमा सहकार्य गर्नका लागि नीजि क्षेत्रको लगानी सुनिश्चित हुने गरी गाउँपालिकाले छुटै कार्यविधि निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संघ र प्रदेशका जनप्रतिनिको मुख्य काम विकास निर्माण भन्दा पनि नीति नियम निर्माणमा जोड दिनुपर्ने बताए । स्थानीय तहले पनि आवश्यक नीति नियम, कार्यविधि बनाएर मात्र विकास निर्माणका गतिविधि अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
पालिका अध्यक्ष गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँ, पुर्व राज्यमन्त्री छम बहादुर गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, प्रशासकीय अधिकृत काजीमान सुनार, निवर्तमान पालिका अध्यक्ष सन्तोष गुरुङ लगायतको सरोकारवाला र स्थानीय बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।




