
खाद्य विक्री केन्द्र होइन, खाद्य डिपोको खाँचो
उत्तरी गोरखाका बासिन्दाले धेरै बर्षदेखि माग्दै आएका बिषयमा पर्छ चुमतर्फ र नुब्रीतर्फ खाद्य डिपो । चुमतर्फ चुम्लिङमा र नुब्रीतर्फ नाम्रुङ वा गपमा खाद्य डिपो राख्न धेरै बर्षदेखि माग गर्दै आएका हुन् ।
गत वैशाख ३ गते आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बोर्ड बैठकले उत्तरी गोरखाको नामु्रङ र चुम्लिङमा खाद्य विक्री केन्द्र स्थापना गर्ने निर्णय भयो । लामो समयसम्म मागेको कुरा पाएपछि उत्तरी गोरखाका बासिन्दालाई न हर्ष भयो, न बिस्मात । उनीहरुलाई यो निर्णय नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार जस्तो भएको छ ।
उनीहरुले मागेका थिए, खाद्य डिपो, उनीहरुले पाए, खाद्य विक्रीकेन्द्र । खाद्य डिपो भनेको स्थायी संरचना हो, जहाँ खाद्यान्न भण्डारण गरिन्छ । पूर्व निर्धारित समय तालिकाअनुसार खाद्यान्न वितरण गरिन्छ । तर खाद्य विक्रीकेन्द्र शिविर जस्तो हो, जहाँ न गोदाम हुन्छ, न कर्मचारी । पालिका(वडा)ले गाउँमा खाद्यान्न आवश्यक पर्नेहरुको तथ्यांक संकलन गर्छ, उनीहरुसित पैसा उठाएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पठाएपछि बल्ल माग गरेजति खाद्यान्न पठाउँछ । त्यो खाद्यान्न वडाका जनप्रतिनिधिहरु बसेर बाँड्छन् ।
यो खालको संरचना आफूहरुले माग नगरेको, आफूहरु खाद्यान्न चाहिने घरधुरी संख्या उठाउँदै र पैसा उठाउँदै हिड्न नभ्याउने वडाअध्यक्षहरुको भनाइ छ । सरकारको यो निर्णय आफूहरुलाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै भएको जनप्रतिनिधिहरुको गुनासो छ ।
तसर्थ जनप्रतिनिधि, नेताहरु, कर्मचारीहरु मिलेर पुन खाद्य विक्री केन्द्रको निर्णयलाई संशोधन गरी खाद्य डिपो माग गर्नुपर्ने खाँचो देखियो । समयको परिवर्तन संगै, माछाखोलामा गाडी पुगेको छ । त्यहाँ सर्वसुलभ र सुपथ मूल्यमा विविधतासहितका खाद्यान्न पाइन्छ । फिलिममा पनि अब केही बर्षभित्रै सवारी साधन पुग्छ । अनि त्यहाँ पनि बजारमा विविधतासहितका खाद्यान्न पुग्छन् । यो अवस्थामा खाद्यान्नको खाँचो रहने चुम तथा नुब्रीका बस्तीमा खाद्य डिपो विस्तार गर्नुुपर्छ । यसप्रति सबैको जोडबलको खाँचो छ ।




