
तान्द्राङको नवज्योति माविमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति
भीमसेन थापा गाउँपालिका वडा नं ३ टारीफाँटस्थित नवज्योति माविमा आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याबमा क्षति पुगेकोे छ । सोमबार विहान नौ बजेदेखि ११ बजेसम्म आगलागी हुदाँ सबै कम्प्युटर जलेर नष्ट भएको वडा ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले बताए ।
‘विद्यालयमा बिहान पढाइ भइरहेको बेला एक्कासी कम्प्युटर ल्याबबाट आगोको मुस्लो निस्केको थियो । पछि ल्याबको कोठा खोलेर हेर्दा ह्वारह्वार्ती आगो बलिरहेको थियो’, उनले भने, ‘तत्काल स्थानीयबासी र प्रहरी सबै मिलेर आगो निभायौँ ।’ विहान १२ बजेतिर आगो नियन्त्रणमा आएको उनले बताए । प्रारम्भिक अनुमानका अनुसार सोलार ब्याट्रीबाट विद्युत सट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

उक्त आगलागीबाट विद्यालयको कम्प्युटर ल्याबमा रहेका सबै कम्प्युटर जलेर जष्ट भएको छ । जसमा ३५ थान कम्प्युटर, एक थान एभिआरबोर्ड, एक थान इन्भर्टर, ३० थान कम्प्युटर टेबल, एक थान सि.सि क्यामेरा र दुई थान क्यामेरा जलेर नष्ट भएको छ । त्यस्तै, एक थान प्रिन्टिङ मेसिन, एक थान कलर प्रिन्ट, ५ थान झ्याल, २ थान ढोका, २५ थान प्लाष्टिक चियर, २४ वर्गाकार कार्पेट, ३० थान कम्प्युटर चियर र ८ थान सोलार व्याट्री रहेको उनले जानकारी दिए । सोलार प्यानलमा पनि केहि क्षति पुगेको उनले बताए ।
सबै गरेर ५० लाख भन्दा बढी क्षति भएको वडा अध्यक्ष लामिछानेले बताए । विद्यालयको कम्प्युटर ल्याब बाहेक अन्यमा भागमा भने क्षति नभएको उनले बताए ।




