
चुम उपत्यकाका ४६१ जनाको आँखाको परीक्षण, ६ जनाको शल्यक्रिया गर्नुपर्ने
चुम उपत्यकामा सञ्चालन भइरहेको श्याग्या महोत्सवको अवसर पारेर चुमनुब्री गाउँपालिका र गोरखा लायन आँखा सेवाकेन्द्रले आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । गत चैत ३० गतेदेखि वैशाख ७ गते बुधबार आठदिनसम्म आँखा रोग परीक्षण शिविर सञ्चालन गरेको हो ।
गोरखा लायन आँखा सेवाकेन्द्रको प्राविधिक सहयोग र चुमनुब्री गाउँपालिकाको आयोजनामा वडा नं. ६ को लोक्पा, चुम्लिङ, चुम्चेत र वडा नं. ७ को छेकम्पार, लामागाउँ, राजनगुम्बामा शिविर सम्पन्न भएको थियो । सो शिविरमा ४६१ जनाको आँखाको परीक्षण गरिएको थियो । जसमध्य छ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकास अर्यालले जानकारी दिए ।
आँखा परीक्षण गरिएकाहरुमध्य आवश्यकता हेरी निशुल्क रुपमा औषधी र चश्मा पनि वितरण गरिएको उनले बताए ।




