
सचिव त पाउँदैन, गाउँले के विकास पाउँछ ?
लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै हो तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ …’(निवन्ध ः के नेपाल सानो छ ?)
वर्तमान राज्य व्यवस्थामा नेपालको सबैभन्दा सानो एकाइ वडा हो । निवन्धनमा भने झैँ ‘वडा’ पनि हाम्रो शरीरको न्यूक्लियस झैँ सबैभन्दा महत्वपूर्ण छ । वडाले नै हर घर, हर नर चिन्छ, चिन्नुपर्छ । हर समस्या र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारे जान्दछ, जान्नुपर्छ ।
गाउँका प्रमुख जनप्रतिनिधि भनेका वडाअध्यक्ष हुन् र मुख्य कार्यकारी कर्मचारी भनेका वडा सचिव हुन्, जो जनजनमा, मनमनमा पुगेका हुन्छन् । यसरी राज्य संरचनाको सबैभन्दा महत्वपूर्ण भए पनि गोरखाका गाउँहरुले वडा सचिव पाएका छैनन् ।
११ वटा पालिका र ९४ वटा वडा रहेको यहाँका ४१ वटा वडामा वडा सचिव छैनन् । वडा सचिवको काम कतै अनमिले, कतै सब ओभरसियरले गरिरहेका छन् । कतै जेटिएले, कतै भिजेटिएले गरिरहेका छन् ।
घरको अभिभावकत्व आमा र बुबाले गर्दा बालबालिकामा जति आनन्दको महशुस हुन्छ, कुनै तलबमा काम गर्ने हेरालुले हेरचाह गर्दा उनीहरुको मनमा त्यो अनुभूति हुदैन । त्यस्तै वडामा वडा सचिव नभएर त्यो काम अनमि, अहेब, एचए, जेटिए, भीजेटिए, ओभरसियर, सबओभरसियर, कम्प्यूटर अपरेटर, सरसफाइ कर्मचारीले गर्दा सेवाग्राहीमा सुखानुभूति हुदैन ।
त्यसमाथि पनि गोरखा नगरपालिकाका वडा नं. ११ र १२ मा अस्थायी कर्मचारीले वडा सचिवको काम गरिरहेका छन् । पञ्जिकरणको काम ज्यादै महत्वपूर्ण र जवाफदेही काम भएकाले स्थायी कर्मचारीले मात्र गर्नुपर्ने प्रावधान छ तर यहाँ करारका कर्मचारीले सो काम गरिरहेका छन् । यो लापार्बाही हो ।
पालिकाहरुले पनि वडा सचिवको पदमा स्थायी पदपूर्तिका लागि जोडदार पहल गर्नुपर्छ ।




