
गोरखा नगरपालिकामा ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न
गोरखा नगरपालिका ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । गोरखा नगरपालिका, जिल्ला सहकारी संघ गोरखा, हिमचुली बचत तथा ऋण सहकारी संस्था, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था, गोरखकाली बचत तथा ऋण सहकारी संस्था र गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी दिवस मनाइएको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्णबहादुर रानामगरले नगरपालिकाभित्र रहेको सहकारीहरुले उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए । सहकारी उत्पादन सहित आर्थिक क्षेत्रमा प्रतिफल दिने गरी लगानी गर्नुपर्ने र मानिसहरुका जीवनस्तर सुधार हुनुका साथै आर्थिक क्षेत्रमा पनि धेरै सुधार आउने बताए । साथै नगरपालिका भित्रको सबै सहकारीको लगानी उद्योग, कलकारखाना समेत खोल्न सकिने उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरले सहकारी लोकतन्त्रको आधार भएको बताउदै सबै सहकारी नियमसंगतले चलेमा मानिसहरुको आर्थिक जीवनस्तरमा धेरै परिवर्तन आउने बताए । सहकारीमा व्यक्तिगत स्वार्थ हावी हुन दिन नहुने उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सहकारी संचालकहरुलाई बेला बेलामा क्षमता अभिवृद्धि तालिमहरु संचालन गर्नुपर्ने, कोभिडपछि सहकारी संचालनमा धेरै समस्या भोग्नुपरेको, केहि सहकारीका कारण धेरै सहकारी बदनाम हुनुपरेको र सहकारीलाई सकारात्मक तरिकाले हेर्नुपर्ने बताएका थिए ।
सोमबार विहान बजार सदरमुकाममा नगरपालिकाभित्र रहेको विभिन्न सहकारी संस्थाहरु प्लेकार्ड सहित प्रभातफेरि कार्यक्रमसमेत भएको थियो ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरको अध्यक्षता तथा गण्डकी प्रदेशसभाका सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर लगायतले मन्तव्य राखेका थिए ।




