| सोमवार, कार्तिक २३, २०८३

वैशाख पहिलो साता देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सरकारले बिगत बर्षमा जस्तै यसबर्ष पनि बैशाख पहिलो साता बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्ने भएको छ ।

वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्टिूय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।

सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्