
गोरखामा करिब एकहजार घरधुरीमा छैनन् शौचालय
गोरखा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको नौ वर्ष बित्यो । भव्य समारोह गरी तत्कालीन मन्त्री गोपालमान श्रेष्ठले गोरखालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका थिए ।
तर अहिले पनि करिब एकहजार घरधुरीमा शौचालय नभएको पाएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लाका ७१ हजार ७२९ घरधुरी रहेकोमा करिब एक हजार घरधुरीमा शौचालय नभएको हो ।
गोरखा फ्लस भएको(सार्वजनिक ढल) भएको शौचालय भएको घरधुरीको संख्या तीन हजार दुई सय ४४ रहेका छन् । फ्लस भएका(सेप्टिक टंयाकी) शौचालय भएको घरधुरीको संख्या ५१ हजार आठसय ५८ रहेको छन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार साधारण(खाल्टे) शौचालय भएको घरधुरीको संख्या एक हजार पाँच सय ७१ रहेका छन् भने पाँच सय चार घरधुरी सार्वजनिक शौचालय प्रयोग गर्दै आएका छन् ।
सरकारले गत शुक्रबार सार्वजनिक गरेको तथ्यांकका अनुसार गोरखामा नौ सय ५२ घरधुरीमो अझै शौचालय नभएको देखाएको छ । जबकि गोरखा २०७१ पुस १६ गते बीसौँ जिल्लाका रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको थियो । तर करिब एक हजार शौचालय नहुदा सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य छन् ।
साथै जिल्लाका विभिन्न सडकखण्ड, राजमार्ग, सरकारी कार्यालय, मुख्य व्यापारिक केन्द्रहरुका सार्वजनिक शौचालय नभएका कारण यात्रुहरु बाध्य भएर खुल्ला मैदान वा जंगलमा शौच गर्न बाध्य छन् ।




