
गोरखामा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम
गोरखा सदरमुकाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसियसनको आयोजना, क्रिष्टल कन्चनजंघा सेक्युरिटिज(ब्रोकर नं ५०), एशियन सेक्युरिटिज (ब्रोकर नं २६), मिडास स्टक ब्रोकिङ कम्पनी(ब्रोकर नं २१) को संयोजनामा तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नेपाल डिपिको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
युवाहरुलाई सानै उमेरबाट आर्थिक रुपमा सचेत बनाई विस्तारै वित्तिय निर्णयहरु गर्न आवश्यक ज्ञान, सिप, मनोवृत्ति र व्यवहार प्राप्त गर्न कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ । विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा मार्च २० गते देखि २६ गते सम्म विभिन्न क्षेत्रमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम संचालन भएको जनाएको छ ।
कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अहिले देशमा आर्थिक मन्दी हुदा उद्योगी, व्यवसायी तथा वित्तीय संस्थालाई धेरै असर परेकोे बताउदै सरकारले नै उपयुक्त नीति, नियम कानुन बनाई समस्याको समाधान गर्नुपर्ने बताए ।
त्यस्तै, विदेशिएका युवाहरुलाई रोक्न, स्वदेशमै रोजगारीको वातावरण बनाउनका लागि सरकारले उपयुक्त कदम चाल्नु पर्ने र त्यसमा निजी क्षेत्र सधै सहयोग गर्न तयार रहेको उनले बताए । साथै यस प्रकारका वित्तिय साक्षरता कार्यक्रमले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न धेरै सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा कन्ञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं ५०) का प्रबन्ध्क सुवास चन्द्र दाहालले स्वागत मन्तव्य राखेका थिए । नेपाल धितोपत्र बोर्डको नियमन विभागमा कार्यरत सहायक निर्देशक गौरब बरालले धितोपत्र बजार सम्बन्धी विविध विषयमा र धितोपत्र व्यापारी नागरिक स्टक डिलरको जोखिम विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख कृष्ण जंग थापा तथा मिडास स्टक ब्रोकिङ कम्पनी(ब्रोकर नं २१) का टे«नर केतन बोहराले आफनो प्रस्तुतीकरण गरेका थिए ।
उनीहरुले लगानीकर्ताले सेयर लगानी गर्दा कम्पनीको कसरी छनौट गर्ने, लगानीबाट कसरी मुनाफा कमाउने, सेयरमा लगानी गर्दा जोखिम न्यूनीकरणका उपाहरु के के छन, लगानी गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ लगायतका धेरै कुराहरुका बारेमा सहभागिताहरुलाई जानकारी गराएका थिए । त्यस्तै, वित्तीय शिक्षा, कर्जाको महत्व तथा कर्जाको सदुपयोग, बचतको महत्व, बचत गर्ने तरिका, विमा लगायका बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रमममा जिल्ला भरीका विभिन्न क्षेत्रमा आवद्ध रहेका एक सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमलाई नागरिक स्टक डिलरका कर्मचारी महेन्द्र नारायण जोशीले सहजीकरण गरेका थिए ।
त्यस्तै, हालै गोरखा जिल्लामा पनि मिडास सेक्युरिटिज कम्पनीले हरमटारीमा शाखा संचालनमा ल्याएको छ । एशियन सेक्युरिटिज(ब्रोकर नं २६) का प्रबन्ध निर्देशक राजकुमार खत्रीको सभापतित्वमा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक (सि.ए.ं) गौरब बराल लगायतको उपस्थिति रहेको थियो ।




