| आइतवार, कार्तिक २२, २०८३

गोरखा जिल्ला फुटबल संघले प्रशिक्षक उत्पादन गर्ने

गोरखा जिल्ला फुटबल संघले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण दिने भएको छ । चैत २१ देखि २५ गते सम्म राष्ट्रिय स्तरका प्रशिक्षकबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा प्रशिक्षण दिईने संघ गोरखाका अध्यक्ष बिशाल गुरुङले बताए ।

‘गोरखामा फुटबलको प्रशिक्षक कम हुनुहुन्छ, यहाँ प्रशिक्षक तयार गर्न सकियो भने खेलाडी उत्पादन गर्न सकिन्छ’ अध्यक्ष गुरुङले भने ‘पहिलो पटक हामीले प्रशिक्षक प्रशिक्षण गर्न लागेका हौँ ।’

प्रशिक्षणमा संघ गोरखामा आवद्ध ११ वटा क्लवका दुई÷दुई जना गरी २२ जना, आठवटा गाउँपालिकाबाट एक÷एक जना गरी ३० जना सहभागी हुनेछन् । ‘गोरखा र पालुङटार नगरपालिकामा एन्फा आबद्ध क्लवबाट सहभागी हुनेछन् भने चुमनुब्रीबाट सहभागी हुनेछैनन्’ अध्यक्ष गुरुङले भने ‘बाँकी गाउँपालिबाट एक÷एक जना सहभागी गराएर प्रशिक्षण गर्ने योजना छ ।’ सोही अनुसार तयारी भईरहेको उनले बताए ।

अहिले बिभिन्न क्लव, विद्यालयहरु, पालिकाहरुलेपनि फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको, प्रशिक्षक अन्यत्रबाट ल्याउनुपर्ने अवस्था रहेकाले यो तालिमपछि गोरखाले फुटबलको क्षेत्रमा थप सुधार गर्न सक्ने अपेक्षा जिल्ला फुटबल संघ गोरखाको रहेको छ ।

एन्फाका कोच शिक्षा प्रमुख संजित सिंह, प्राविधिक निर्देशक हरि खड्का, मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ लगायतले गोरखमा प्रशिक्षण दिनेछन् । तालिममा सहभागिता हुनका लागि एसईई÷एस.एल.सी अथवा सो सरह मान्यता प्राप्त संस्थाबाट उतीर्ण भएको हुनुपर्ने, फुटबल खेलाडी रही फुटबलको सामान्य ज्ञान भएको हुनुपर्ने र प्रशिक्षार्थीको उमेर १८ देखि ३५ वर्ष भित्रको हुनुपर्ने एन्फा अध्यक्ष गुरुङले बताए ।

गोरखा जिल्ला फुटबल संघको व्यवस्थापन र अखिल नेपाल फुटबल संघ(एन्फा) को प्राविधिक सहयोगमामा ४ दिने प्रशिक्षक तालिम संचालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्