| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी आयोजनाको १ अर्ब ४० करोड रकमान्तर, कांग्रेस सांसद बजगाईको बिरोध

गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावाटको बूढीगण्डकी जलविद्युत आयोजनाकालागि बिनियोजन गरिएको बजेट उर्जा मन्त्रालयले रकमान्तर गरेको छ ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार बुढीगण्डकीको १ अर्ब बजेट अर्को आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि रकमान्तर गरिएको छ । डाइभर्सनको सिन्धुली सुरूङ निर्माणका लागि भन्दै १ अर्ब बजेट थप गरिएको हो ।
बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको हो ।

गत फागुन महिनामा कुल १ अर्ब ६५ करोड बजेट रकमान्तर भएको छ । विभिन्न मन्त्रालयले एउटा उपशीर्षकबाट अर्को उपशीर्षकमा बजेट रकमान्तर गर्न सक्छन् । तर यसका लागि अर्थको सहमति भने चाहिन्छ । खर्च नभएको आयोजनाको बजेट आवश्यक भएको आयोजनामा रकमान्तर गर्न सक्ने भए पनि मन्त्री तथा राजनीतिक नेतृत्वले स्वार्थका लागि जथाभावी रकमान्तर गर्न सक्ने जोखिम हुन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलले कर्णाली, कालीगण्डकी र कोशी करिडोरको १० करोड बजेट मदन भण्डारी राजमार्ग आयोजनामा रकमान्तर गरेको छ ।

कांग्रेस सांसद बजगाईको बिरोध

बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपिएको भन्दै गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईंले विरोध जनाएका छन् ।

बुढीगण्डकीको १ अर्ब ४० करोड रूपैयाँ रकमान्तर गरेको भन्दै सांसद बजगाईंले सामाजिक सञ्जालमार्फत विरोध गरेका हुन् । उनले आयोजना र जनप्रतिनिधिलाई बजेट रकमान्तर भएको बारे कुन जानकारी नभएको बताएका छन् ।

‘गोर्खालीहरुको साझा सपना बुढीगण्डकी आयोजना निर्माणमा लाग्नुपर्ने समयमा अर्थ मन्त्रालयले आयोजनालाई जानकारी समेत नदिइकन रकमान्तर गर्नु दुर्भाग्यपूर्ण छ,’ सांसद बजगाईंले भने ‘यो विषयलाई मैले गम्भिर रुपमा लिएको छु ।’
सांसद बजगाईंले बुढीगण्डकी आयोजना निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्