
एकै दिन १७ जनामा देखियो कोरोना
नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ ।
चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।
सक्रिय संक्रमित पनि बढेको पाइएको छ । हाल ३० जना सक्रिय संक्रमित छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।




