
गोरखाको विकासकै शिलान्यास होओस्
पन्थडिही, कटहरे, हर्मी, साहिलटार सडक कालोपत्रे गर्ने कामको शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो गोरखाको विकासको शिलान्यास भएको तर्क गरे ।
यसले धेरैमा खुशीको सञ्चार ग¥यो । आफू प्रधानमन्त्रीमा पक्का भएको भोलिपल्टै २० किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख गर्दै उनले यो शिलान्यास सो एउटा सडकको मात्र नभै जिल्लाकै विकासको शिलान्यास भएको बताउँदा श्रोता, दर्शकहरु आल्हादित भए ।
प्रधानमन्त्रीले यसरी विकासको शिलान्यास गरेको सुन्दा खुशी हुनु स्वभाविकै हो । किनकि उनी चुनाव प्रचारमा आउँदा पनि धुलेबाटो पिच गर्ने आश्वासन दिएका थिए । त्यसबाट स्थानीयहरु भाषणमा जस्तै हुन्छ भनेर आश्वस्त हुन नसके पनि केहीचाहिँ पक्कै हुन्छ भन्नेमा ढुक्का थिए ।
गाउँठाउँमा त्यस्ता सडक धेरै छन् । बारपाक सडक दुईबर्षभित्र कालोपत्रे गरिसक्ने आश्वासन दिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गए । इपिसेण्टरबासी आश्वासन कार्यान्वयनको आशा गरेर बसे । आज छ बर्ष बित्यो, बाटो कालोपत्रे भएको छैन ।
अहिलेका प्रधानमन्त्रीको आशामा अँबुवा, बिर्दी, सेरा पौवाटार सडक पर्खिरहेको छ । सातदोबाटो, बागडाँडा, गाईखुर सडक, पालुङ्टारबाट चेपे करिडोर हुदै दूधपोखरी पुग्ने सडक, चनौटे, ताकुकोट सडक, ताकुकोट, सौरपानी, बारपाक सडक पनि प्रधानमन्त्रीको प्रतिक्षामा छन् ।
प्रधानमन्त्रीले आफू कुनै एक क्षेत्रको मात्र नभै सिँगै गोरखाको भएको उद्घोष गरेपछि बेनिघाट, आरुघाट, लार्के सडक, आरुघाट, घ्याम्पेशाल, निवेल हुदै गएको मध्यपहाडी लोकमार्गले पनि कालोपत्रे हुनका लागि प्रधानमन्त्रीकै आशा गरिरहेको छ ।
त्यस्तै घ्याम्पेशाल आरुपोखरी आरुघाट सडक, आर्खेत मान्बु सडक, सोती मान्बु सडक, बुंकोट, अश्राङ, बोर्लाङ जोड्ने सडक आदिले पनि प्रधानमन्त्रीको बचन पूरा हुने आशा गरिरहेका छन् । अब यी तमाम सडक स्तरोन्नति होउन्, स्थानीयबासीको सपना साकार होओस् ।




