| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका चारवटा पालिकामा आधारभूत अस्पताल भवन अझै बनेन

केशव गुरुङ

अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो । उक्त कार्यक्रम अन्तरगत गोरखाका आठवटा स्थानीय तह छनौटमा परे । तीमध्य बारपाक सुलिकोट, अजिरकोट, शहिदलखन र सिरानचोक गाउँपालिकाबाहेक अन्य चार स्थानीय तहमा अस्पताल भवन निर्माण अभैm हुन सकेको छैन ।

जिल्लाका आरुघाट, धार्चे, भीमसेनथापा, र चुमनुब्री गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य सुरु हुन नसकेको हो ।
आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने आरुघाट गाउँपालिकाको योजना थियो । उक्त ठाउँ बूढीगण्डकी आयोजनाबाट डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ अस्पताल भवन निर्माण गर्न समस्या भएको स्वास्थ्य शाखाका प्रमुख प्रवीन थापाले बताए ।

‘आरुघाट बजार डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ भवन बनाउन नमिल्ने रहेछ । अहिले डुबान नपर्ने वडा नं ९ र १० मा १५ शैयाको अस्पताल बनाउन जग्गाको खोजी भईरहेको छ’, उनले भने । तर गाउँपालिकाको हिउँदे अधिवेशनले भने पालिकाको आरुघाट प्राथमिक स्वाथ्य केन्द्रलाई नै स्तरोन्नति गरेर १५ शैयाको अस्पताल बनाउने निर्णय भएको उनले जानकारी दिए ।

धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा पनि पाँच शैयाको आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । स्वास्थ्य चौकीको नाममा जग्गा प्राप्त भएको तर प्राविधिक दृष्टिकोणले उक्त स्थान उपयुक्त नहुने देखिएपछि काम सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले बताए ।

‘अघिल्लो वर्ष आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्राप्त गरी माटो परिक्षण र डिपिआर सबै भइसकेको थियो तर २०७८ सालमा माछीखोला, यारुबगर, सोती लगायत चुमनुब्रीको क्षेत्रमा ठूलो बाढी आयो’, उनले भने, ‘बूढीगण्डकी नदीको धार परिवर्तन हुन सक्ने भएकाले त्यहाँ प्राविधिक दृष्टिकोणले अस्पताल बनाउन ठिक छैन भन्ने कुरा आयो ।’ सरकारले पनि अस्पताल बनाउन घोषण गरेको दोस्रो वर्षबाट बजेट विनियोजन नपठाएको र फलोअप समेत नगरेकाले टेण्डर प्रक्रिया अगाडि बढाउन नसकिएको उनले बताए ।

तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ सिर्दिबासमा पाँच शैयाको अस्पताल सिलान्यास भइसकेको छ । तर अहिलेसम्म अस्पताल भवन निर्माणका लागि सबै कागजपत्र मन्त्रालयमा पेश गरेर पनि कुनै प्रक्रिया अगाढि बढाउन नसकेको गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

त्यस्तै, भीमसेन थापा गाउँपालिकाको पनि अहिलेसम्म भवन निर्माण हुन सकेको छैन । वडा नं ६ अश्राङमा अस्पताल निर्माणका लागि मन्त्रालयबाट ढिलो स्वीकृति प्राप्त भएर आएकाले भवन निर्माण कार्यमा ढिलाई भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

स्टक्चर एनलाइसिस ढिलो स्वीकृत भएर आएको भवन निर्माणमा ढिलाई भएको उनको भनाइ छ । अहिले डिपिआर अन्तिम चरणमा रहेको र अब छिट्टै ठेक्का प्रक्रियामा जाने उनले जानकारी दिए । उनका अनुसार अश्राङमा १० शैयाको अस्पताल निर्माण हुन लागेको छ ।

यस्तै सहिदलखन गाउँपालिकामा अस्पताल भवन निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ । वडा नं ५ तीनमानेमा १५ शैयाको अस्पताल बन्न लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । डेढ महिनाअघि मात्र जग्गा सम्याउने काम सुरु भएको र तीन वर्षभित्र अस्पताल निर्माण सक्ने योजना रहेको उनले बताए । जग्गाको प्रक्रियाका कारण अस्पताल निर्माणमा ढिलाई भएको उनको भनाइ छ ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ४ को हुँडीखोलाफाँटमा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । अहिले पहिलो तल्लाको ढलान सकेर दोस्रो तल्लाको ढलानको काम सुरु भरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए । अघिल्लो वर्षबाट सुरु भएको काम बीचमा बर्खा लगायतका कारणले रोएिको उनले जानकारी दिए ।

सिरानचोक गाउँपालिकामा वडा नं ८ जौवारीमा आधारभूत अस्पतालको भवन निर्माणधिन चरणमा छ । यसअघि जग्गा व्यवस्थापन नहुँदा भवन निर्माण ढिलाई भएको तर अहिले भवनको पहिलो तल्लाको काम सम्पन्न भई दोस्रो तल्ला निर्माणको चरणमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक टुकमान श्रेष्ठले बताए । १२ करोड ७ लाखमा कवीन्द्र नवसिर्जनशील जेभीले १५ शैयाका अस्पताल भवन निर्माणको ठेक्का लिएको हो । सम्झौता भएअनुसार २०८० भाद्र मसान्तसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

अजिरकोट गाउँपालिका वडा नम्बर ३ को भच्चेकमा अस्पताल निर्माणधीन अवस्थामा छ । गाउँपालिका केन्द्र भच्चेक बजारमा निर्माण हुन लागेको पाँच शैयाको अस्पतालको अहिले ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

भच्चेकमा रहेको स्वास्थ्य चौकी भवनलाई स्तरउन्नति गरी पाँच बेडको अस्पाताल भवन बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । ५ शैयाको अस्पताल समयमै काम सम्पन्न गर्न मन्त्रालयसँग थप बजेट माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य जानकारी दिए । चालु वर्ष काम सक्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा भने अस्पताल बनाउन सरकारले सिफारिस गरेको छैन । दुई नगरपालिकामा यसअघि नै अस्पताल रहेको र गण्डकी गाउँपालिकाको मकैसिंङमा प्राथमिक स्वास्थ्य केन्द्र पहिल्यै रहेकाले नयाँ बनाउने निर्णय नभएको हो ।

प्रतिक्रिया दिनुहोस्