| आइतवार, कार्तिक २२, २०८३

शनिबारबाट हुने तेस्रो लिगलिगे साइकल दौडको तयारी पूरा

पालुङटार नगरपालिका २ लिगलिगकोटमा चैत ४ गते शनिबारबाट हुने तेस्रो लिगलिगे साइकल दौडको तयारी पूरा भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको हुन लागेको लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए ।

राष्ट्रिय खेलकुद परिषदबाट अनुमतिप्राप्त उक्त साइकल दौड नेपालकै ठूलो प्रतियोगिता भएको उनले बताए ।
प्राविधिक रुपमा बाटो सफा गर्ने लगायतका सबै काम पूरा भइसकेको दौडका लागि चैत दुई गतेबाट खेलाडी आउने क्रम सुरु भइसकेको छ । सो प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

साइकल दौड प्रतियोगितामा सहभागी हुनेले लिगलिगकोटबाट सुरु भएर आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर पार गर्नु पर्नेछ ।

प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानीय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । उनका अनुसार पुरुष कुलिनतर्फ समूहका सहभागीहरुतर्फ पहिलो हुनेले नगद ७५ हजार, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र, चौथो हुनेले नगद १५ हजार नगद, मेडल, प्रमाणपत्र र पाँचौ हुनेले ७ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र पाउने आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

त्यस्तैगरी,३५ वर्ष माथिका अर्थात पुरुष मास्टर समूहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ ।

स्थानीयतर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रथम, द्वितीय र तृतीय हुनेलाई .५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ ।

लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम समापन हुने उनले बताए । लिगलिग भिलेज स्पोर्टसका आयोजना पालुङटार नगरपालिका, गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने प्रवद्र्धकमा रुपमा पर्यटन बोर्ड रहेको छ । प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

प्रतियोगिता संचालनका लागि ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएकोछ । जसममा पालुङटार नगरपालिकाले ५ लाख, गोरखा नगरपालिकाले ५ लाख, सिरानचोक गाउँपालिकाले २ लाख, भानु नगरपालिकाले एकलाख र प्रदेश खेलकुद परिषद गण्डकीले तीनलाख रुपैया गरी कुल १६ लाख जुट्ने अनुमान छ । बाँकी रकम विभिन्न संघसंस्थाबाट जुटाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह(प्रायोजन गरेको छ । दिउसो विविध साँस्कृतिक कार्यक्रम राखिएको छ । साँस्कृतिक कार्यक्रममा लोक गायक चिज गुरुङ र अस्मिता डल्लाकोटी मनोरञ्जन दिनेछन् ।

यसका साथै लोक दोहोरी गीत प्रतियोगिता, बालन, चुटका, लाखेनाच, राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला गुरुङ रानाले जानकारी दिइन् । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्