
‘ठेकेदार खोइ ?’ अभियानको खाँचो
अहिले ‘कर्मचारी राजनीति गर्ने, शिक्षक राजनीति गर्ने, विद्यार्थी राजनीति गर्ने, कलाकार राजनीति गर्ने, ठेकेदार राजनीति गर्ने, पत्रकार राजनीति गर्ने, व्यापारी–व्यवसायी राजनीति गर्ने, तर राजनीति गर्नुपर्ने राजनीतिज्ञचाहिँ राजनीति नगर्ने व्यापार, व्यवसाय गर्ने’ भन्ने आरोपवाणी चलेको छ ।
छोटो छरितोमा सुन्दा हो कि झै लाग्ने ।
यही लागु भएको छ, निर्माण व्यवसायीको क्षेत्रतिर पनि । निर्माण व्यवसायीको लगाव राजनीति तिर, राजनीतिकर्मीको ध्यान मन ठेकेदारीतिर भएको अबस्था छ । देश विकासको प्रमुख अड्चन यसमा छ ।
देश निर्माणको प्रत्यक्ष जिम्मेवारी निर्माण व्यवसायीको काँधमा हुन्छ । जनप्रतिनिधि, सरकार, राजनीतिक दल, प्राविधिक वा कर्मचारीहरु त विकास रुपी चलचित्रका प्रोडुसर, डाइरेक्टर वा त्यस्तै नेपथ्यभित्र काम गर्ने चरित्र हुन् । कम्प्यूटरको भाषामा भन्नुपर्दा सफ्टवेयर हुन् । परियोजनास्थलमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अभिनेता निर्माण व्यवसायी हुन् । वा देख्न सकिने, छुन सकिने हार्डवेयर निर्माण व्यवसायी हुन् ।
विकास निर्माणमा उनीहरुको यति महत्व हुँदाहुँदै पनि उनीहरुले आफ्नो भूमिकालाई नजरअन्दाज गरी अर्कै काममा व्यस्त हुन्छन् । जसले गर्दा न देशको विकास, न उनीहरु स्वयंको विकास हुन्छ ।
कसैकसैले भन्ने गर्छन्, ‘आजका अधिकांशलाई अरु सबैको कामको बारेमा थाहा हुन्छ, सिर्फ आफ्नोबाहेक’ भनेर ।
धेरै निर्माण व्यवसायी अहिले आफ्नो कार्यक्षेत्रमा भेटिँदैनन् । ठेक्का लिएको आफ्नो काम भर्सेला परोस्, उनीहरु कि नेता, मन्त्रीको निवासमा, कि ठूला होटलहरुमा उनीहरुको धन्धा चल्छ । अनि निर्माणको काम अलपत्र हुन्छ ।
तर यसो भनिरहँदा कतिपय निर्माण व्यवसायी आफूले जिम्मा लिएको काम दत्तचित्त भएर फत्ते गर्नतिर लागिरहेका पनि भेटिन्छन् । उनीहरुप्रति अपार सम्मान छ । आफ्नोबाहेक अरुको कामको पछि दौडिने ठेकेदार जसले आफ्नो काम अलपत्र पारिरहेका छन्, उनीहरुलाई लक्षित गरी ‘ठेकेदार खोई ?’ अभियान सञ्चालन गर्नु सुहाउँदिलो हुन्छ । काम अलपत्र पारेको साइट तथा सम्बन्धित क्षेत्रमा ठेकेदार खोई अभियान सञ्चालन गरियो भने उनीहरु कार्यस्थल खोज्दै आउन बाध्य हुन्छन् ।




