
नदीको बहाव छेक्नु अनुचित
अहिले धमाधम नदीजन्य सामग्री उत्खनन्, संकलन र ढुवानीको सिजन सुरु भएको छ । यही मौका छोपी कतिपय ठेकेदारले दुराशय राखी आईईई र पालिकासंगको सम्झौतामा उल्लेख गरेको सीमा र सर्त बिपरीत नदीको प्रवाहमा एक्साभेटर प्रयोग गरी उत्खनन गर्ने, निर्धारित गहिराइ भन्दा धेरै खोतल्ने, उल्लेखित परिमाणभन्दा धेरै उत्खनन गर्ने जस्ता काम गर्न सक्छन् ।
बिगत बर्षहरुमा कतिपय पालिकाको अभ्यास हेर्दा ठेकेदारको यस्ता गतिविधिमा आँखा चिम्लेर बस्ने, अनुगमन नगर्ने, जिल्ला अनुगमन समितिलाई पनि प्रभावमा पर्ने जस्ता गतिविधि गर्न सक्छन् ।
पालिकाहरुले आन्तरिक आयको मुख्य स्रोत नै नदीजन्य सामग्रीलाई ठानेका हुन्छन् । नीति र नियममा कडाइ गर्दा निर्माण व्यवसायी बिच्किने डरले पालिकाहरु चुपचाप लागेर बस्ने गरेको पनि पाइन्छ । जस्ले गर्दा व्यवसायीहरुले ठेक्का नलगाएका, ठेक्का लगाउन नमिल्ने पुलमुनि, मसानघाट तथा अन्य संरक्षित क्षेत्रमा पनि उत्खनन् गरिरहेका हुन्छन् ।
नियमसंगत रुपमा उत्खनन गर्दा सीमित मात्र नाफा आर्जन हुने, अल्लि बल प्रयोग गरे अकुत आर्जन गर्न पाइने भएपछि व्यवसायीहरुले अभद्र व्यवहार प्रदर्शन गर्न पनि तम्सन्छन् । यस्तो दुश्कर्ममा उछृङ्खल युवाहरु पनि देखा पर्छन् । उनीहरुको अभद्रताका अघि संरक्षणवादीहरु निरिह, निरुपाय बन्छन् । यस्तै माहोलमा उछृङ्खलता मौलाइरहेको हुन्छ ।
यी यसअघिका विभिन्न ठाउँका घटना हुन् ।
केही दिनदेखि सहिदलखन गाउँपालिका ४ करनटार बगरको बालुवा किनेका ठेकेदारले पनि यस्तै अनुचित कार्यशैली प्रदर्शन गरे । पालिकासित ६ हजार घनमिटर बालुवा उत्खनन गरेर बिक्री गर्ने ठेक्का पाएका त्रियुगा निर्माण सेवाले त्रिशुलीमा बाँध बाँधे । नदीको नियमित बहाव रोक्ने प्रयत्न गरे । प्रकृतिमा प्रतिकूलता सिर्जना गर्ने यस खालको गतिविधिको चौतर्फी आलोचना भयो । अन्ततः यसतर्फ गाउँपालिकाको ध्यानकर्षण भयो । गाउँपालिकाले नै पत्राचार गरी यस खालको अनुचित कार्यमा रोक लगाएको छ ।




