
मनास्लु क्षेत्रमा वैकल्पिक पर्यटन पदमार्ग निर्माणको खाँचो
मनास्लु क्षेत्र अहिले नेपालको उदाउँदो पर्यटकीय क्षेत्र हो । धेरै पर्यटकीय क्षेत्रमा मोटरबाटो पुगेपछि पर्यटकहरु बिस्थापित हुन थालेका छन् । यस क्षेत्रमा भने अहिलेसम्म मोटरबाटो नपुगेकाले पदयात्रा गर्ने पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गएको छ ।
हिमाली तथा उच्च पहाडी क्षेत्रको पदयात्रा आफैमा लाभदायी छ, त्यसैले कोभिडको बर्ष छाडेर अरु बर्ष बार्षिक झण्डै १० हजार विदेशी पर्यटक मनास्लु क्षेत्रमा पुग्ने गर्छन् ।
यहाँको पर्यावरण, कला, संस्कृति, धार्मिक, साँस्कृतिक स्थल पर्यटकलाई लोभ्याउने खालका छन् । मनास्लु हिमाल, मनास्लु बेसक्याम्प, लार्केपास, वीरेन्द्रताल, कालताल, विभिन्न छाँगाछहरा, सयौं बर्ष प्राचीन गुम्बाहरु, त्यहाँको कला, संस्कृति अपार छन् । त्यसैले यहाँको पर्यटकीय विकास यसै भइ नै रहेको छ यसलाई अझै पूर्वाधार विकास गर्न सके पर्यटकीय विकास अवश्य हुने छ ।
मानव सभ्यतालाई अति आवश्यक पर्ने मोटरबाटो यहाँ पनि अवश्य नै बन्नेछ । पर्यटन विकासमा ह्रास नआओस् भन्नका लागि त्यससंगसंगै वैकल्पिक पदमार्ग निर्माण अपरिहार्य ट ।
ठूलो आकारको बजेट खर्च हुने सडक संघ सरकारले निर्माण गर्छ, गरिरहेको पनि छ । अब पदमार्गका लागि प्रदेश सरकार र स्थानीय पालिकाले कार्यक्रम बनाएर अघि बढाउनु पर्छ । मोटरले धुलो उँडाएको पदमार्गमा पर्यटक हिँड्न रुचाउँदैनन् । मोटरमा यात्रा गर्ने पर्यटकले विकेन्द्रित स्थलको पर्यटन उद्योग फस्टाउन टेवा पु¥याउँदैनन् । अर्थात सिधै गन्तव्यमा पुगेर अवलोकन गर्ने र फर्कने गर्छन् ।
मोटरबाटो बनेपछि यात्रु त बढ्छन् नै तर सामागाउँ, छेकम्पारको मात्र व्यवसाय फस्टाउँछ । त्यसअघिको ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत क्षेत्रका होटल व्यवसायमा कुनै राहत पु¥याउँदैनन् । मोटरबाटो खुलेपछि न पर्यटक रमाउँछन्, न व्यवसायी । त्यसैले समयमै सोच बिचार गरी पर्यटक र व्यवसायीको मागलाई सम्बोधन गरी यथासीघ्र वैकल्पिक पर्यटन पदमार्ग निर्माण गर्नुपर्छ ।




