
अमेरिकाबाट आएको पार्सलमा गाँजा, गोरखाका एक युवक पक्राउ
अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो । यसमा संलग्न रहेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल पक्राउ परेका छन ।
होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ ।
उक्त पार्सलबाट २.४ किलो गाँजा बरामद भएको हो । उक्त पार्सल लिन आएका अर्याललाई नागार्जुन–१ खरीबोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको थियो ।
ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।
यस्तै, अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिए पछि अन्य दुई जना पनि पक्राउ परेका छन । ६.९ किलो गाँजा बरामद गरेको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्ने गर्छ ।
त्यहीक्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो।
जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो। उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो।
पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको एसपी जोशीले बताए।
उनीहरूबाट एउटा भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ। उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एक लाख ४० हजार भारू पनि बरामद गरेको छ।
तर नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ।
‘गाँजा नेपालमा प्रशस्त पाइन्छ। अमेरिकाबाट आएको पार्सल पनि धेरै होइन। थोरै मात्राको मात्रै छ। किन यसरी ल्याइयो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ जोशीले भने, ‘तर बरामद भएको गाँजा अलि फरक किसिमको छ। अमेरिकी पर्यटकलाई नै लक्षित गरी ल्याइएको हो कि भन्ने हाम्रो अनुमान छ।’
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्युरोले जनाएको छ।




