
विकास निर्माणको काम सुचारु गर्न पालुङ्टारको तदारुकता
जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको सुमधुर सहकार्यमा विकास निर्माणको गति निर्भर गर्छ । यी तीनमध्य एक अवयव गडबड भयो भने अपेक्षित विकास निर्माणको काम हुदैन । तर दोष केवल निर्माण व्यवसायीले पाउँछन् ।
यो बिडम्बना हो, किनभने निर्माण कार्यमा प्रत्यक्ष देखिने सतहमा निर्माण व्यवसायी हुन्छन् । उचित मागका आधारमा कर्मचारीले विकास निर्माणका योजना प्रक्रियागत रुपले माग गर्ने, जनप्रतिनिधिले योजनाका लागि नीतिगत निर्णय गराउनमा पहल गर्ने, कर्मचारीले विस्तृत योजना प्रतिवेदन तयार गरी ठेक्का आव्हान गर्ने गर्छन् । प्रक्रिया पूरा भएपछि ठेकेदारसंग ठेक्का सम्झौता गर्ने, साइट दिने, निर्धारित समयमा फिल्ड भिजिट गरी बिल भरपाई पास गर्ने, रकम भुक्तानी माग गर्ने, निर्माण कम्पनीलाई भुक्तानी दिनेलगायतका धेरै काम कर्मचारीको हुन्छ । जनप्रतिनिधिको भूमिका झनै अहम हुन्छ ।
विकास निर्माणको योजना पार्नमा चासै नदिने जनप्रतिनिधि पनि छन् । योजना सम्झौता गरेर साइट पाएपछि खुरुखुरु काम सम्पन्न गर्ने निर्माण व्यवसायी पनि छन् । काम सम्पन्न गर्ने तर कर्मचारीले बिलभुक्तानी नदिएर धुरुक्कै रुवाएका घटना पनि अनगिन्ति छन् । राज्य कोषमै पैसा नहुँदा समस्यामा परेका निर्माण व्यवसायी पनि छन् ।
ठेक्का सम्झौता गरेर मोबिलाइजेशन(पेस्की) रकम लिएपछि गायब हुने निर्माण व्यवसायी पनि छन् । कार्यालय प्रमुख वा कर्मचारी सरुवा गरिदिने ठेकेदार पनि छन् । काम नहुनुमा धेरै अवयवले काम गरेका हुन्छन् । त्यसैले तमाम समस्या पहिचान गरी सो समस्याको सकेसम्म समाधान गर्न पालुङटार नगरपालिकालेचाहिँ निर्माणकर्ताहरु(ठेकेदार)संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा निर्माण व्यवसायीले भोगेका समस्या, कर्मचारीले भोगेका अप्ठ्यारा, जनप्रतिनिधि तथा स्थानीय स्तरका नेताहरुले गर्न सक्ने सहयोग, समन्वयका बारेमा छलफल भएको थियो ।
साथै दुर्वल पक्षलाई सकेसम्म निराकरण गरी विकास निर्माणको कामलाई गति दिने बारेमा निश्कर्ष निकालिएको थियो । पालुङ्टार नगरपालिकाको यो अभ्यासले पक्कै पनि एउटा गतिलो निकास दिनेछ । यस्ता काम अरु पालिकाले पनि सिकेमा राम्रो हुनेछ ।




