| आइतवार, कार्तिक २२, २०८३

ठेक्काका कामको गति बढाउन पालुङटार नगरपालिका र व्यवसायी बीच छलफल

विकास निर्माणका काम निर्धारित समयभित्रै सिध्याउन हुने गरेको समस्या र समाधानका उपायका बारेमा पालुङटार नगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । नगरपालिकाले ठेक्का लगाएका काम किन समयमै हुन सकेन भन्ने बारेमा व्यवसायीसँग अन्तरक्रिया गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

‘व्यवसायीहरुको समस्या पनि सुनौँ, कामको गति पनि बढाऔँ भन्ने उद्देश्यले छलफल गरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने । उपभोक्ता समितिबाट नगरभित्र भएका काम ९० प्रतिशत सकिएको तर ठेक्काबाट भएका कामको गति त्यो अनुसार नरहेको उनले बताए । निर्माण सामग्रीको समस्या, केही सामाजिक मुद्दा, गत वर्षको कोभिड लगायत कारणले ठेक्का भएका केही काम पूरा हुन नसकेको व्यवसायीले बताएका छन् । कोभिडका कारण ६, ७ वटा ठेक्का २÷३ वर्षदेखि पूरा हुन नसकेको उनले बताए ।

ठेक्का लागेका कामको प्रगति कम देखिएकाले छिटो काम गर्न आग्रह गरिएको पालुङ्टार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले बताए । ‘काम क्वालिटी, क्वान्टिटी, निर्धारित समयमा सक्नुपर्छ भनेका छौँ’, उनले भने, ‘यी विषयमा कुनै सम्झौता हुँदैन ।’ ठेक्का लागेका कामको गतिबाट सन्तुष्ट हुन नसकिएको बताउँदै उनले अब केही सुधार हुने अपेक्षा रहेको बताए ।
‘व्यवसायीले काम सिध्याउने समय दिएका छन्, हामीले निरन्तर उनीहरुलाई भनिरहेका छौँ’, मेयर चिन्तनले भने ‘समस्या समाधान गर्दै छिटो विकास निर्माणका काम गरौँ भन्ने हो ।’

कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डे, वडा अध्यक्षहरु, नगरभित्र निर्माणको काम गर्दै आएका व्यवसायीहरुको उपस्थिति रहेको थियो । व्यवसायीले काम गर्दा भएको समस्या समाधान गर्न नगरपालिकाले पनि सहयोग गरिदिनुपर्ने धारणा राखेका थिए । व्यवसायी सुरज श्रेष्ठले जनप्रतिनिधिसँगको समन्वयमा काम गर्दा व्यवसायीलाई सजिलो भएको बताए । ‘केही सामाजिक मुद्दाहरु हुन्छ, काम गर्दै गर्दा हामीले समाधान गर्न नसक्ने अवस्था पनि आउँछ, जनप्रतिनिधिले त्यस्ता मुद्दालाई समाधान गरिदिनुभयो भने सहज हुन्छ’ उनले भने ।

ब्यबशायीले भोग्नुपरेको समस्याका बारेमा नगरपालिकालाई थाहा हुन जरुरी हुने उनले बताए । ‘काम लगाउने र गर्ने बीच सुमधुर सम्बन्ध सँगै छिटो काम गर्नपनि समय समयमा छलफल आवस्यक पर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्