| सोमवार, कार्तिक २३, २०८३

अकला मन्दिरको पुनर्निर्माण छिटो सम्पन्न होओस्

गोरखा नगरपालिका वडा नं.१४ मा अवस्थित अकला देवी मन्दिरमा अचेल भक्तजन पूजाअर्चना गर्न आउने क्रम बिगतको भन्दा निक्कै बढेको छ । यसअघि बाटोको सुगमता नहुँदा आसपासका मात्र भक्तजन आउने यहाँ अचेत जिल्ला बाहिरबाट पनि आउने गरेका छन् ।

संख्यात्मक रुपमा भन्नुपर्दा अहिले अकला मन्दिरमा दैनिक सरदर दुईसय जना भन्दा धेरै भक्तजन आउँछन् । शनिबार तथा सार्वजनिक विदाका दिन भक्तजनको संख्या यो भन्दा धेरै हुन्छ भने अन्य दिनमा यो भन्दा कम हुन्छन् ।
नियमित पूजा गर्न आउनेको संख्याका तुलनामा अक्करमा परेका बेला वा अप्ठ्यारोका बेला भाकल गरेर भाकल बुझाउन आउनेको संख्या यहाँ धेरै हुने गर्छ । गाह्रो अप्ठ्यारो परेका बेला अकलाको भाकल गर्दा गाह्रो अप्ठ्यारो समाधान हुने विश्वास छ । त्यसैले बर्षेनी यहाँ भाकल गरेर भाकलबुझाउन आउनेको संख्या बढिरहेको हो ।

यो मन्दिरमा यसअघि भइरहेको मन्दिरको भवन जीर्णोद्वार गर्न सुरु गरिएको छ । बिगत पाँच बर्षभन्दा पहिलेदेखि सुरु गरिएको काम अहिलेसम्म गति लिन नसक्दा भक्तजनहरु बली दिने कोठामा पूजा गर्न बाध्य छन् । अकलाको यसअघिको मूर्ति जीर्णोद्वार भइरहेकै ठाउँमा छ । तर पूजा भने बली दिने कोठामा गर्न भक्तजनहरु बाध्य छन् । यदि जीर्णोद्वारको काम छिटो छिटो भएको भए यस्तो समस्या झेल्नु पर्दैनथ्यो ।

यसअघि मन्दिर पुनर्निर्माण गर्न २०७४ सालमा सिलान्यास गरिएको थियो ।
अहिले झ्याल, ढोका, खापा तथा अन्य प्रयोगका लागि काठको अभावको कारण देखाउँदै मन्दिर निर्माणको काममा ढिलाइ भएको हो । तर मन्दिर निर्माण समितिले काठको आपूर्ति भएको, झ्याल, ढोका बनाउनका लागि फर्निचर उद्योगमा अर्डर गरिएको, अब छिट्टै निर्माणको काम सुचारु गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्