| आइतवार, अशोज १७, २०८३

सिरानचोकलाई दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि

गोरखा जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । शुक्रबार प्रतियोगिता समापन भएसँगै कुल २१ पदकसहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो ।

सिरानचोक गापाले ९ स्वर्ण, ६ रजत र ६ कास्य गरी कुल २१ पदक हात पारेको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिं बस्न्यातले बताए । प्रतियोगितामा विजयी बनेको सिरानचोकलाई शुक्रबार सिल्ड प्रदान गरिएको उनले बताए ।

पालुङटार नगरपालिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित कुल १२ पदक सहित दोस्रो बनेको छ । बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ४ रजत १ कास्य जित्दै कुल ९ पदक सहित तेस्रो बन्यो भने ४ स्वर्ण, ३ रजत १ कास्य जितेर कुल ८ पदक सहित भिमसेन थापा गाउँपालिका चौथो बनेको अध्यक्षले बस्न्यातले जानकारी दिए ।

प्रतियोगितामा गोरखा नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल ११ पदक, गण्डकी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ४ कास्य सहित कुल ९ पदक, आरुघाट गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ कास्य पदक गरी कुल ८ पदक हात पारेका छन् ।
अजिरकोट गाउँपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ५ पदक, शहिदलखन गाउँपालिकाले १ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ५ पदक हात पारेको छ ।

प्रतियोगितामा जिल्लाका ११ स्थानीय तह मध्ये चुमनुब्री बाहेक सबै स्थानीय तहका आठसय भन्दा बढी विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । मंगलबारबाट सुरु भएको प्रतियोगिता विहिबारसम्म समापन गर्ने पूर्व निर्धारित कार्यक्रम रहेता पनि विविध कारणले गर्दा शुक्रबार समापन गरिएको उनले बताए ।

प्रतियोगितामा १० पालिकाका आठ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कब्बडी, दौड लगायतका ३० विधाका खेलहरु खेलाइएको थियो । खेलकुद विकास समितिको आयोजना तथा शक्ति माध्यमिक विद्यालयको सहआयोजनामा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

पालिकास्तरमा छनोट भएका विद्यार्थीले जिल्लास्तरीय प्रतियोगीतामा सहभागी थिए । अव जिल्लास्तरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्ने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्